नेपालगञ्ज । नेपालगञ्ज बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष शुरु गरेका हुन ।
सहायता कक्षको उद्घाटनमा ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना, गलत क्रियाकलाप तथा प्रतिक्रियाहरु हुन नदिनका लागि सहायता कक्ष स्थापना गरिएको बताए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बुढाक्षेत्रीले आउँदै गरेको चाडपर्वमा बसपार्क क्षेत्रमा हुन सक्ने सम्भावित जोखिम नियन्त्रणका लागि सहायता कक्ष प्रभावकारी हुने बताए ।
यात्रुहरुलाई तानातान गर्ने, बसपार्कमा बसमा चडाउने र अगाडी लगेर लामो दुरीको सवारी भेटिएपछि छोटो दुरीका सवारीसंग नराम्रो व्यवहार गर्ने, बसपार्कभित्र अन्य अनैतिक गतिबिधि र यात्रुलाई सुरक्षा प्रदान गर्न हामी तत्पर रहने समेत वडा प्रहरी प्रमुख क्षेत्रीले बताए ।
अस्थाई प्रहरी पोष्ट बसपार्कका प्रमुख प्रहरी नायव निरीक्षक भरत वलीले सहायता कक्षमा नियमित दुई जना प्रहरीको उपस्थिति रहने बताउदै प्रहरीले यस क्षेत्रमा हुने गलत कार्य नियन्त्रणमा यात्रुलाई सहयोग समेत पुर्याउने बताए । उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, यातायात व्यवसायी र सवारी चालकहरुको उपस्थिति रहेको थियो ।