काठमाण्डौं : भनिन्छ, अमेरिकाले सडक बनायो र सडकले अमेरिका बनायो। विकसित राष्ट्रहरूको विकासमा सडक, रेलमार्ग र मजबुत यातायात पूर्वाधारको महत्त्वपूर्ण भूमिका रहिआएको छ। आजको सन्दर्भमा चीनले यस क्षेत्रमा सम्पूर्ण विश्वलाई पछाडि पारिदिएको छ। अत्यन्त दुर्गम र अभेद्य मानिने भूगोलमा पनि सडक र रेलमार्ग पुर्याएको छ। अदभूत प्रविधि, तीव्र गतिमा गरिने निर्माण क्षमताको कारण दुनियाँलाई चकित पारिदिएको छ।
नारायणघाटदेखि मुग्लिङ (मदन आश्रित राजमार्ग), यो ३६ किलोमिटरको राजमार्ग सन् १९७८ देखि १९८२ मा निर्माण भएको थियो। यसमा चीन सरकारको सहयोग थियो। समय क्रमसँगै यातायातको बढ्दो चापका कारण यसलाई थप चौडा बनाउने काम सन् २०१५ मा शुरु गरियो। दुई वर्षमा निर्माण पूरा गरिने योजना थियो तर ६ वर्षभन्दा बढी समय लाग्यो र त्यहाँ यात्रा गर्नेहरूले पाउनसम्म दुःख पाए। एकचोटी मलाई त्यो ३६ किलोमिटर पार गर्न ६ घण्टाभन्दा बढी लागेको थियो। अव्यवस्थित यातायात नियन्त्रण, अनुशासनहीन सवारी चालकहरूको कारण घण्टौंसम्म जाम परेको थियो।जुन २०१३ मा शुरु गरिएको कोटेश्वरदेखि कलंकीसम्मको १०.५ किलोमिटरको सडक सुधार र विस्तार गर्न पाँच वर्ष लागेको थियो। चीन सरकारद्वारा सहयोग प्राप्त र चीनकै संघाई निर्माण कम्पनीले पाएको यो काममा ढिलासुस्ती नेपाल सरकारको कारण भएको थियो। यति सानो निर्माण गर्न यतिका समय लिने सरकारले पूरा शहर सुधार गर्न कति पुस्ता लगाउने हो ? यत्रो समय लगाएर निर्माण गरिएको मदन आश्रित राजमार्ग ठाउँ-ठाउँमा भत्किएको अवस्था छ। हर साल पहिरो जान्छ र घण्टौं जाममा परिन्छ। कोटेश्वर-कलंकी खण्डको ग्वार्को चोकनिर तोडफोड र फ्लाइओभर बनाउने काम फेरि शुरु भएको छ, हेर्दै जाउँ कति समय लाग्ने हो।
चीनको शहर हान्जौदेखि संघाईसम्मको दूरी १८० किलोमिटर छ। यसमा मैले सन् २०१६ मा यात्रा गरेको थिएँ। जम्मा आधा घण्टाको समयमा यो दूरी पूरा भएको थियो। रेलको सेवा र सञ्चालन अत्यन्त उत्कृष्ट थियो। फुजियान प्रान्तको दक्षिणपूर्वी तटहरूमा अवस्थित शहरहरूलाई जोड्न समुद्रमाथि निर्माण गरिएको बुलेट ट्रेन, जसलाई चीनमा हाई स्पिड रेल भनिन्छ, को उदघाटन चीनले २९ सेप्टेबरमा गर्यो। २७७ किलोमिटर लामो यस रेलमार्गको केही भाग ताइवान स्ट्रेट सँगसँगै पूर्वी तटीय इलाकाहरूको समानान्तर हिँड्छ। चीनले यस क्षेत्रमा भौतिक पूर्वाधारको निर्माणमा खास्सा तीव्रता देखाएको छ।
साउद चाइना मर्निङ पोस्टका अनुसार यस वर्ष थप २५०० किलोमिटर रेल सञ्जालसँग जोडिने छ। त्यसपछि यस हाई स्पिड रेल सञ्जाल ४४ हजार ५०० किलोमिटर पुग्नेछ र सन् २०२५ सम्म ५० हजार किलोमिटर पुर्याउने चीन सरकारको लक्ष्य रहेको साउद चाइना मर्निङ पोस्टले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ। चीनको हाई स्पिड रेल सञ्जाल संसारकै सबैभन्दा ठूलो हो। विगतमा चीन सरकारको कोभिडलाई लिएर लागू गरिएको अत्यन्त सख्त नीतिका कारण यस क्षेत्रलाई केही आर्थिक नोक्सानी भएको थियो। तर, यस वर्ष २७ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म १९ करोड यात्रुहरूको लक्ष्य प्रक्षेपण गरिएको जानकारी उक्त पत्रिकाले दिएको थियो।
न्युज टाइमको दिनेश के बोहरा भन्छन्- भारतको अहमदाबाददेखि मुम्बईका लागि निर्माण गरिने बुलेट ट्रेनको ट्र्याक अन्दाजी ५५० किलोमिटर लामो छ। २०१६-१७ मा योजना स्वीकृत भएको थियो। हालसम्मको प्रगति हेर्दा २०२८ सम्ममा ५० किलोमिटरको ट्र्याक निर्माण सम्पन्न हुनेछ। पूरा ट्र्याक निर्माण सम्पन्न हुन सन् २०३० सम्म कुर्नुपर्ने अनुमान गरिएको छ। हालसम्म बुलेट रेल भारतको लागि पनि एउटा सपना छ भने चीनसँग संसारकै सबैभन्दा ठूलो सञ्जाल छ।
भारतले उत्तर-दक्षिण र पूर्व-पश्चिमका महत्त्वपूर्ण शहरहरूलाई जोड्न राजमार्ग विस्तार र स्तरोन्नति गर्ने महत्त्वाकांक्षी योजना सन् १९९८ मा शुरु गर्यो, जसलाई नेसनल हाइवे डेभलपमेन्ट प्रोजेक्ट नाम दिइयो। दिल्ली, मुम्बई, कोलकाता र चेन्नईलाई चार लेनको राजमार्गद्वारा जोड्ने यो योजना थियो। त्यस बेलादेखि हालसम्मका दिनहरूमा भारतले आफ्नो राजमार्गको विस्तार र स्तरोन्नतिको सन्दर्भमा धेरै प्रगति गरिसकेको छ, जसलाई हामीले सडक मार्गबाट भारत प्रवेश गर्नेबित्तिकै अनुभूति गर्न सक्छौं। सन् २०२१-२२ मा भारतमा प्रत्येक दिनजसो २८.६ किलोमिटर सडक निर्माण हुन्थ्यो। यस हिसाबले काठमाडौंको चक्रपथ (रिङ रोड) जत्रो सडक एकैदिनमा निर्माण गर्न सकिने रहेछ।
उत्तर प्रदेशको राजधानी लखनऊदेखि आगराको एक्सप्रेस वे भनी नामाकरण गरिएको राजमार्ग ३०२.२ किलोमिटर लामो छ। ६ लेनको यस द्रुत मार्गलाई भविष्यमा ८ लेनसम्म विस्तार गर्न सकिने ठाउँ छाडिएको छ। यो सडकले राज्यको गरिमा र सौन्दर्यमा अभिवृद्धि गरेको छ।
१३ हजार २०० करोड भारतीय रुपैयाँ (२.४ अर्ब अमेरिकी डलर) लागतमा सन् २०२३ मा निर्माण सम्पन्न गरिएको थियो। तत्कालीन उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले यस राजमार्गको निर्माण २२ महिनामै सम्पन्न गरी विकासप्रतिको राजनीतिक अठोट प्रदर्शन गरेका थिए। यद्यपि, यो राजमार्ग आफ्नो र आफ्नो श्रीमतीको चुनाव क्षेत्र र यादव बाहुल्य इलाकाहरूबाट लगिएको भन्ने आरोप पनि अखिलेश यादवमाथि लाग्ने गरेको छ। पछिल्लो योगी सरकारले यसमा भएको भ्रष्टाचारसम्बन्धी कुराहरूको खोजतलाश गर्ने प्रयास गर्दा यस राजमार्गको बनावट र स्तरीय गुणको सम्बन्धमा भने प्रश्न उठाउने ठाउँ भेटाउन सकेन।
देश निर्माणका लागि कठोर राजनीतिक इच्छाशक्ति चाहिन्छ। पर्यटन प्रमुख स्रोत भएको देशको सरकारलाई सडक मार्गबाट प्रवेश गर्ने लाखौं भारतीय पर्यटकहरूले नेपाल प्रवेश गरिसकेपछि के सोच्दा होलान् भन्ने लाग्नुपर्छ। हाम्रो देशमा सडक मार्गबाट आउने पाहुनाहरूलाई दुःख, कष्ट नहोस् भन्ने कुरा सरकारको ध्यानमा हुनुपर्छ। सडक मार्गहरूको निर्माण र स्तरोन्नति द्रुत गतिमा गरिनुपर्छ। सडक, राजमार्गको व्यवस्थापन, मर्मत सम्भारमा उत्तरदायी र जवाफदेहितापूर्ण नीति हुनुपर्छ र त्यसको पालना गरिनुपर्छ।
राम्रोसँग लाग्ने हो भने एक दशकमै धेरै ठूलो फड्को मार्न सकिन्छ। माथि उल्लेख गरिएका सन्दर्भहरू यसका उदाहरण हुन्। यसमा उल्लेखित जानकारी जानकारीका लागि मात्र नभएर सचेतना जगाउनु पनि हो। स-सानो दूरीको बाटो बनाउन धेरै समय लगाउने र लामो समयसम्म दुःख, सास्ती दिने सरकारलाई आमजनताले खबरदारी गर्नुपर्छ र जवाफदेही बनाउनुपर्छ। ‘ट्राभेलिङ इज अ फन’ अर्थात् यात्रा रमाइलो हुनुपर्ने हो। तर, नेपालमा बाटोबाट गरिने यात्रा अत्यन्त कष्टकर र सास्तीपूर्ण छ। यो सास्ती आम जनमानसले अनवरत रूपमा बेहोर्नु परिरहेको छ। सरकार अत्यन्त असंवेदनशील छ भन्ने कुराको यो उदाहरण हो।नेपाली हेडलाइनबाट