दाङ । कुटपिटबाट घाइते भएका सल्यानका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । दाङको बागचौर नगरपालिका–७ कोटबाराका २० वर्षीय घनश्याम वलीमाथि बागचौर–८ स्यालाका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले कात्तिक ४ गते कुटपिट गरेका थिए ।
कुटपिटबाट शक्त घाइते घनश्यामको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको खबर आएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बतए । उनका अनुसार कुटपिटमा संलग्नमध्ये सन्तोष पक्राउ परेका छन् । उनलाई दाङ प्रहरीको सहयोगमा बुधबार पक्राउपछि सल्यान ल्याउन लागिएको डिएसपी कार्कीले बताए । केशर भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार कात्तिक ४ गते पुरानछाप गाउँमा स्थानीय विद्यालयमा युवाहरू भलिबल खेलिरहेका थिए । घनश्याम पनि भलिबल खेल्न र हेर्न भनेर त्यहाँ गएका थिए । भलिबल खेल हेर्न गएका घनश्याममाथि अनाहकमा दुई युवाले मिलेर कुटपिट गरेको स्थानीयले बताएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।