दर्शन सुनार, कतार : नेपाली राजदूतावास र नेपाली रक्तदाता संघको आयोजनामा कतारमा वृहत् रक्तदान गरिएको छ।नेपालीहरुको महान चाड दशै, तिहार, नेपाल संवत् र छठ पर्वको अवसर पारेर शुक्रबार वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।
नेपाली राजदूतावासको प्राङ्गणमा शुक्रबार बिहान ८ बजे दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रममा नेपाली राजदूतावास कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकालले रक्तदान गर्दै शुभारम्भ गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा १ सय ५७ जनाको उपस्थिति रहेको थियो। सय जनाले रक्तदानको लागि रजिष्ट्रेसन गरेका थिए। जसमध्ये ८० जनाले रक्तदान गर्न सफल भएको र २० जनाले रक्तदान गर्नबाट बन्चित भएको रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले बताउनु भयो।


कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक तथा वैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु विभिन्न जातिय संस्थाहरु, बुद्धिजीवी, समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्तिथि रहेको थियो ।
नेपाली राजदूतावासका प्रथम सचिव कृष्ण कुमार सुवेदीले हामी नेपालीहरु श्रम गर्नको लागि मात्र नभएर देशसँग हाम्रो धेरै कुरा भावनासँग जोडिएको बताउँदै हाम्रो कर्मभूमी रहेको मुलुकमा हामीले पनि केही सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको बताउनु भयो ।

रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सभ्य र भव्य बनाउन सहयोग गर्ने हसम्पुर्णलाई नेपाली राजदूतावासका महामहिम ढकालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित भएर रक्तदान गर्नुभएका सम्पुर्ण रक्तदाताहरुलाई सम्मान पत्र प्रदान गर्दै अन्तिम रक्तदान रामजी खत्रीले गर्नुभएको थियो।