पानी पर्ने क्रम नरोकिने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै



काठमाडौं २८ साउन ।
पानी पर्ने क्रम नरोकिने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसमविद्ले बताएका छन् ।आज बाग्मती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका एक(दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
उहाँका अनुसार नेपालमा पानी पार्ने मनसुनी न्युन चापीय रेखा नेपाल नजिकै रहेकाले आज दिउँसो प्रदेश ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका एक(दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै अरु धेरै ठाउँमा मेघ गर्जनसहित हल्का देखि मध्यम खालको पानी पर्ने उहाँले बताउनुभयो ।
यस्तै राति बाग्मती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक(दुई ठाउँमा ठूलो र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यसैबीच बाँकेको डुबान भैरहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म नै सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
गएराति बाँकेको कुशुम, नेपालगञ्ज, खजुरा आसपास ठूलो पानी परेकाले मानखोला र डुडुवाखोलामा एक्कासि बाढी आउने र राप्तीमा पानीको सतह बढ्ने भएकाले डुबान भैरहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म नै सतर्क हुन महाशाखाले अनुरोध गरेको हो ।