काजविहीन वरिष्ट सईको भरमा बाँके प्रहरी


  • काजविहीन वरिष्ट सईको भरमा बाँके प्रहरी
  • नेपालगंज । जिल्ला प्रहरी कार्यालय बाँकेमा काजविहीन वरिष्ट सईले राज गरेकै कारण कहीँ नभएको जात्रा बाँके प्रहरीमा फेला परेको छ । एउटा काजविहीन प्रहरी अधिकृतले गर्दै आएको गलत कदमको साक्षी जिल्ला प्रहरी कार्यालय बाँके बनेको हो ।

    कालिकोटको कुमालगाउ दरबन्दी भई गृहजिल्लाको जिल्ला प्रहरी कार्यालय बाँकेमा करिब ५/६ वर्षदेखी काजसमेत नलिएर रजगज चलाउँदै आएका प्रहरी वरिष्ठ नायब निरीक्षक माधव रिजालका कारण बाँकेको प्रहरी कमाण्ड सम्हाल्ने एसपी हुनकि प्रहरी बरिष्ट नायब निरीक्षक हुन भन्ने जिल्ला प्रहरी कार्यालय बांकेमा चासोको रुपमा उठ्ने गरेको छ । 

    कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै राज्यको सुरक्षा अंगमा यस्तो लज्जास्पद चरित्र बाहिरिनु बांके प्रहरी मात्र नभई सिंगो नेपाल प्रहरीको संगठन नै बद्नाम हुनु हो । अनुसन्धान र कर्तव्यनिष्ठामा अब्बल मानिने नेपाल प्रहरीको संगठनमा रहेका केही तत्वहरुले गर्दा पछिल्लो समय प्रहरीको छविमाथि प्रश्न उब्जन सक्ने वातावरण बन्दै गएको पाइएको हो । 

    उक्त प्रहरी अधिकृतले मातहतका प्रहरीहरुलाई दिएको प्रताडनाबाट विक्षिप्त भएकाहरुको पीडा कम्ती छैन । यसअघि हाम्राकुराले गत कार्तिक २२ गते “ऐन कानूनको धज्जी उडाउँदै वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजाल वर्षौँदेखि काजमा” भन्ने शिर्षकमा पहिलोपटक समाचार ब्रेक गरेपछि रिजालले समाचार हटाउन स्थानीय नेता र केन्द्रीय शक्तिलाई मात्रै गुहारेनन् हाम्राकुराकर्मीलाईसमेत पटक पटक अनुनयसँगै विभिन्न प्रलोभन देखाए ।  

    तर काज सम्बन्धी निर्देशिका, २०६९ का अनुसार रिजाल गलत भएपछि आफूमात्र नभएको बाँकेमा थुप्रै त्यस्ता प्रहरीहरु नियम विपरीत बसेको बताए । बाँकेमा शक्तिको आडमा जिल्लाको एसपीलाई प्रभावमा पार्दै वर्षौदेखी दबदबा चलाउँदै आएको र तल्लो तहकालाई नीतिनियम लागू हुने माथिल्लो दर्जालाई नहुने के छ भन्ने निर्देशिका अध्ययनपछि पुष्टि भएको चरम दादागिरीको बारेमा लेखिएको सामग्री हटाउन नमिल्ने र समाचार गलत भए सो अनुसार लेखिपठाए जस्ताको त्यस्तै प्रकाशन गरिदिने बताएपछि दबाबमा परेका रिजालले अन्ततः त्यही झ्वाँकमा मंसिर १ गते (हिजो शुक्रबार ) एउटा म्यासेज लेख्दै 'साँझ ५ बजे जुलेट वान सरबाट रोलकल हुने भएको हुँदा अफिसकलरमा प्रहरी कर्मचारी र फिल्डमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु अनिवार्य भद्र पोशाकमा आउनू' भनी उर्दी गरियो । 

    रोलकल एसपीले दिनुपर्नेमा उनै रिजालले प्रोटोकललाई मिच्दै 'मलाई अप्ठेरोमा पार्ने काम भयो । यो विषयको सबै जानकारी लिँदैछु' भन्दै एकैपटक ७ जना घुमुवाहरुलाई रमाना बुझ्न प्रशासनले ताकेता गरेको बताइएको छ ।

    आफैँ निर्देशिका विपरीत बसेर अरुलाई ऐनको पाठ सिकाउन खोज्ने रिजालले ७ जना घुमुवालाई हटाएर आफू अनुकूल चार जनालाई डिउटी रजिष्टरमा विभिन्न काममा देखाएर प्रहरी सहायक हवल्दार आतिश खा, हवल्दार केशब घर्तीमगर, प्रहरी सहायक हवल्दार इन्द्रबहादुर बोहरा र प्रहरी जवान सन्दिप थापालाई घुमुवामा पठाएको स्रोतले जनाएको छ ।



  • प्रहरी संगठनभित्र रहेर मनलाग्दी गर्दै आएका रिजाललाई कर्मचारी प्रशासन प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उमेशराज जोशीलाई यसबारे तिहार अगावै सर्कुलर गरिसकेको जनाएका छन् । 

    यता सो विषयमा डीआईजी जोशीले आफूले हिजोमात्रै (मंसिर १ गते) प्रदेशका प्रहरी युनिटलाई मंसिर ८ गतेभित्र सरुवा गर्न निर्देशन गरेको भन्दै कसैलाई पनि छुट दिने प्रदेशको नीतिमा नभएको बताए । 

    सोही अनुसार जिल्लाका प्रहरी प्रमुखहरुले काम गर्ने पनि उनले बताए । उनले भने, 'काजमा बस्ने सबै ठाउँमा हुन्छ, तर वर्षाैँसम्म हुँदैन । कहिलेकाहीँ कुनै युनिटहरुमा कर्मचारी अभाव भएमा निश्चित समय बस्ने हो ।'

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले निर्देशिका विपरीत संगठनमाथि आँच आउने काम कोही कसैले गर्न नहुने र वरिष्ठ प्रहरी नायब निरीक्षक रिजालको बारेमा तत्काल कदम चाल्न निर्देशन दिएको बताए । उनले निर्देशन दिए पनि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले भने वास्ता नगरेको पाइएको छ ।

    यसबारे थप जानकारी लिन सम्पर्क गर्दा बाँके प्रहरी प्रमुख बोहराले धम्कीपूर्ण भाषाको प्रयोग गर्दै आफूहरुको आन्तरिक विषयमा मिडियाले चासो लिने आवश्यकता नरहेको बताए । 

    उनले काजमा राख्ने वा हटाउने भन्ने अफिसको इन्टरेस्टको कुरा भएको भन्दै आइन्दादेखि यो विषय नकोट्याउन चेतावनी दिए । काज निर्देशिका विपरीत काजमा राख्न पाइन्छ र ? भनी प्रश्न गर्दा उनले फोन काटे । हाम्राकुराडटकमबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *