माइतीघरदेखि बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा


  • माइतीघरदेखि बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा
  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि एक महिनासम्म काठमाडौंको पुतलीसडकको पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । यससँगै तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

    सोमबार जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै आजदेखि ३० दिनसम्म माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्दै पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाउने सूचना जारी गरेको हो ।

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ९क० बमोजिम माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जारी गरेको आदेशमा भनिएको छ ।



  • एक वा त्यसभन्दा बढी समूहले एकै मिति, समय र स्थानमा भेला भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैँझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुन सक्ने र हुलदंगा वा अशान्ति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो ।

    त्यस क्षेत्रमा रहेका सार्वजनिक सेवा प्रदायक निकायको कामकारबाही सार्वजनिक सम्पत्ति संरक्षण एवं सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्ने र अत्यावश्यक एम्बुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्थालाई मध्यनजर गरेर जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसको आधारमा प्रशासनले यस्तो निर्णय गरेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *