डोटिमा जिप दुर्घटना हुंदा तीनको मृत्यु ३२ जना घाइते



डोटी ।
डोटि जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका जानकारी दिए । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए । उनले भने, “हामी घटनास्थलमै घाइतेको उद्धार गरिरहेका छौँ, घाइतेको सङ्ख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौँ ।” बस सडकबाट ३० मिटर तल खसेको थियो ।
वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।