टहटह जून लागेको रात । हरिशरण शौचालयबाट निस्किएर घरतर्फ लम्कियो । शौचालय र घरको दूरीबीच चोया बाँसको झ्याङ थियो । बाँसको झ्याङ दायाँ भएर घरको बाटो आँगनतिर उक्लिन्थ्यो ।
हरिशरण ठ्याक्कै बाँसको झ्याङमा के आइपुगेको थियो, माथि आकाशतिरबाट अनौठो खोला सुसाएको जस्तो स्याँ... आवाज आयो ।
उसले आकाशतिर हेर्यो । जूनको उज्यालोमा भुईंतिर नुहेका बाँसका टुप्पाहरू र ससाना पातहरू बिनाबतासै हल्लिरहेका थिए !
हरिशरणको सातो जान पनि पाएको थिएन कि बिजुलीको गतिमा कालो घना कपालको एक भीमकाय मुठो मास्तिरबाट झर्यो ।
र, उसलाई सर्पले झैँ बेरेर आकाशतिर कतै लापता भयो ।
मुठो यति विशाल थियो कि मानौँ हजारौँ स्त्रीहरूको युगौँदेखि पालिएको कपाल होस् ! मुठो, कुनै नाम्लो या बरियोले फेरो लाउन सक्दैन थियो ।
हरिशरण गाउँबाट अचानकै गायब भएपछि र उसको मृत शरीर पछिसम्म पनि नभेटिएपछि गाउँलेहरूले निष्कर्ष निकाले– गाउँलेहरूको ऋण तिर्न नसकेर ऊ गाउँ छोडेर भागेको हो ।
आखिर दुःखहरूको कुनै कमी थिएन हरिशरणलाई । टुहुरो केटो एक्लै हुर्केको थियो । विस्तारैविस्तारै गाउँलेहरूको स्मृतिबाट ऊ हराउँदै थियो । ऋणदाताहरूको स्मृतिमा मात्रै ऊ टड्कारै रह्यो ।
हरिशरण टिपिएको घटना टोड्काबाट एउटा बूढो उल्लुले देख्यो । आफ्नो यत्रो उमेरभरिमा यस्तो अनौठो र डरलाग्दो घटना कहिले नदेखेकोले उसको होस त्यसउप्रान्त कहिले राम्ररी फर्केन ।
बेलाबेला बर्बराउने गर्थ्यो, “यो धरतीमा हामी सबै उल्लुहरू हौँ । हामीलाई केही थाहा छैन । अहँ, केही थाहा छैन । कहिल्यै नसुल्झिने रहस्य कतिकति ।”बाह्रखरी