दर्शन सुनार, कतार : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने यति बेला देश बनाउने दौडानमा हिडेका छन्। बिदेश भ्रमणका क्रममा रहेका लामिछाने बिहीवार कतार आईपुगे। शुक्रबार दोहाको ओसिसबीच क्लबमा प्रवास नेपाली सम्पर्क विभाग कतारले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई लामिछानेले सम्बोधन गरे।
चौतिस बर्षसम्म पुराना दलले आफ्ना मान्छे बोक्ने र ठेक्का पट्टा सार्ने मात्रै काम गरेकोले देश आज बर्बादी र दलदलमा फसेको सम्बोधनका क्रममा लामिछानेले बताए ।
लामिछानेले अन्य राजनीतिक दलसँग कटाक्ष गर्ने अभिप्राय आफनो नभएको र अन्य दललाई आफुले पनि कटाक्ष नगर्ने बताए। साथै आफुले सुरु गरेको राजनीतिक यात्रा सजिलो नभएको बताउँदै हजारौं मुद्दालाई सिरानी बनाउदै आएको र जनताका दु:ख र पीडाका मुद्दा खेप्न आफु सदैब तैनाथ रहेको उनले दाबी गरे।

१४ बर्ष आफु वैदेशिक रोजगारमा बसेर परदेशका दुख कष्ट पीडा आफुले भोग्दै आएको बताउदै टेलिभिजन बाट देश र जनताको दुख र पीडा कम गर्न न सकेर आफू टेलिभिजन छोडेर राजनीतिमा होमिएको बताए ।
पुराना राजनीतिक दलहरु अझै पनि समय हुँदै सुध्रिन नसके, सपार्न नसके आफुले मिसन ८४ मा घन्टीले पुराना दललाई ईतिहासमा बदलेर देश बनाउने अठोट लामिछानेले गरे। जनताका छोराछोरी छातिभरि गोली बोकेर बाँचिरहेको अवस्थामा देशलाई सुनौलो बिहानी दिन हिडेका नेताहरु नै शरिरभरी सुन बोकेर, सुन तस्करीहरु अनि भष्टचारीहरुसँग कुम जोडेर देशलाई लुटेर देश बर्बाद बनाएको पनि उनले दाबी गरे ।

कतारमा श्रम गरेर पनि नेपालका पप्पु नेताहरुलाई पाल्न परेकोमा निकै दुख व्यक्त गर्दै देशले दियो देखेको पार्टी रास्वपा रहेको बताउँदै देशलाई ट्रयाकमा ल्याउन सबैले एक पटक मत घण्टीमा हालेर देश परिवर्तन गर्न सबैलाई आग्रह समेत उनले गरे।
प्रवास नेपाली सम्पर्क विभाग कतारका सभापति अब्दुल करिम मियाको सभापतित्व तथा राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रबि लामिछानेको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा कतारमा स्थापित बैचारिक संगठनका अध्यक्ष तथा प्रतिनिधिसँगै सामाजिक व्यक्तित्वहरुले समेत शुभकामना मन्तव्य राखेका थिए ।
प्रवास बिभागका प्रवक्ता गोपाल न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि रबि लामिछानेको हातबाट घण्टी चिन्हको लोगो लिदै तीन सय जना भन्दा बढी व्यक्तित्वहरु रास्वपामा प्रवेश गरेका थिए । कार्यक्रममा हजारौं दर्शकहरुको उपस्थिति रहेको थियो।
प्रवास नेपाली सम्पर्क विभाग कतारका उपसभापति नियम भुजेलले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति अब्दुल मियाले कार्यक्रमलाई बिफल बनाउन हजारौं बाधा अडचन आएता पनि आफुले देखेको सपना आज साकार र सफल भएकोमा खुसी व्यक्त गर्दै नियम र कानुनको दायरा भित्र रहेर कार्यक्रमलाई भब्य र सभ्य बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद प्रकट गरे ।