दर्शन सुनार/ कतार : भनिन्छ नि इच्छा शक्ति भयो भने चाहेको काम सजिलै गर्न सकिन्छ भनेर। इच्छा शक्तिकै कारण म्याग्दीका तिलु शर्मा पछिल्लो समय कतारमा अब्बल पत्रकार भनेर चिनिन्छन्। हुन त उनी कतारमा झन्डै २ दशक अघि कामको सिलसिलामा गएका हुन्।
कतार जस्तो व्यस्त देशमा आफ्नो काममा व्यस्त हुँदाहुँदै पनि तिलुले पत्रकारितालाई निरन्तरता दिँदै आए। फलस्वरूप कतारका विभिन्न संस्थाबाट उनी सम्मानित हुँदै आएका छन्। शुक्रबार मात्रै तिलु कतारका दुई संस्थाबाट सम्मानित भए।
शुक्रवार सम्पन्न नेपाली श्रमिक कल्याणकारी संघ कतारको चौथो अधिवेशन र शेष घलेद्वारा संरक्षित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारको दशौँ अधिवेशन तथा रचना वाचन कार्यक्रममा तिलु एकैदिन सम्मानित भएका हुन्।
कतारमा रहेर पत्रकारिता मार्फत उल्लेखनीय योगदान दिएको भन्दै तिलुलाई दुई संस्थाले सम्मान गरेका हुन्। नेपाली श्रमिक कल्याणकारी संघले पौडेललाई मायाको चिनोसहित कदरपत्रद्वारा सम्मान गरेको हो । त्यस्तै एनआरएनए एनसिसि कतारले पनि पत्रकारिताको माध्यमबाट प्रवासी नेपालीको हक, हित र अधिकारको सुनिश्चितता तथा नेपाली भाषा, संस्कृति र कलाको संरक्षणका साथै संस्थाको श्रीवृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसापत्र र नगद २ सय ५ कतारी रियाल (नेरु ७ हजार १ सय) सहित सम्मान गरेको हो ।
एकैदिन कतारका दुई संस्थाबाट सम्मानित भएपछि पत्रकारितामा झन् हौसला मिलेको तिलु बताउँछन्। पत्रकारिता मार्फत आवाजविहिनको आवाजलाई बाहिर ल्याउनुका साथै गलद कदमको पर्दाफास गर्ने आँट सम्मानले मिलेको उनले बताए।
उनी हाल मध्यान्ह दैनिकमा कतार संवाददाताको रुपमा कार्यरत छन्। सन २०१४ बाट पत्रकारिताको शुभारम्भ गरेका उनले म्यादी अन्लाईन,साझा नेटवर्क हुँदै लालीगुराँस,केन्द्रबिन्दु डटकम अनलाईन पोर्टल लगायतका मिडियामा समेत काम गरिसकेका छन्।
पछिल्लो समय उनी गैर आवासीय नेपाली वैदेशिक रोजगार तथा आप्रवासी कामदारका समाचारलाई प्राथमिकतामा राख्दै आएको मध्याह राष्ट्रिय दैनिकमा निकै सक्रिय छन्। सामाजिक रुपमा विभिन्न सघं-संस्थामा आवद्ध रहेका पौडेल कतारमा निडर र निष्पक्ष पत्रकारिता गर्ने पत्रकारका रुपमा परिचित छन्।