काठमाडौं । सरकारले बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणा गर्ने भएको छ ।
मृत्यु भएका युवकका परिवार र सरकारबीच सोमबार भएको चारबुँदे सहमतिमा उनीहरूलाई सहिद घोषणा गर्ने र मृतकका परिवारका एक–एक सदस्यलाई रोजगारी दिने सहमति भएको हो ।
रोजगारीका लागि कोरिया पठाउनका लागि लिइने परीक्षासम्बन्धी विवादमा झडप हुँदा अछामका वीरेन्द्र शाहको प्रहरीको गोली लागेर तथा दैलेखका सुजन राउतको प्रहरी कुटपिटबाट मृत्यु भएको थियो ।
सहमतिमा सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने र मृतकको शवलाई सम्बन्धित जिल्लामा पुर्याउन गृह मन्त्रालयले प्रबन्ध मिलाउने उल्लेख छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले घटनाका विषयमा उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा जाँचबुझ आयोग पनि गठन गरेको छ ।