देशभर बदली, चट्याङ्गसहित वर्षा हुने, केही स्थानमा ठूलो पानी पर्ने



काठमाडौं ३१, साउन ।
देशभरको मौसम शनिबार सामान्यतया बदली भइ धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेकाले मौसम बदली तथा वर्षा भएको हो ।
हाल देशभर समान्यतया बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् ।
शनिबार दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश , प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । यस्तै राति पनि देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत हुनेछ ।
दिउँसो तथा राति देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । विशेषगरी बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको मौसमविदले बताएका छन् ।