नेपालगन्ज : चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। चलचित्र छायांकनका लागि उपयुक्त स्थल र पर्यटन प्रवर्द्धनका लागि सरोकारवालासंग आज आइतबार अन्तरक्रिया गरेको हो।
गीत, संगीत र चलचित्र निर्माण गर्नका लागि बाँके- बर्दिया जिल्लामा रहेका उपयुक्त ठाउँहरूको बारेमा स्थानीय कलाकार, पत्रकार, पर्यटन व्यवसायी, होटेल व्यवसायी, सिनेमा हल सन्चालक लगायतसँग अन्तरक्रिया गरिएको हो । बाँकेको डुडुवा गाउँपालिकाको कम्दि नजिकै रहेको पिकनिक स्थलमा आयोजना गरिएको अन्तर्क्रियामा सहभागीहरुले यहाँका धार्मिक, सांस्कृतिक, सामाजिक मुल्यमान्यता झल्कने यहाँका स्थानीय चाडवाड, गाँउ, तालतलैया, बाटो, पूल नदि लगायत समावेश गर्न सकिने सम्भावना रहेको बताए।
कलाकार सुन्दर गुरुङले गुरुवागाउँ मेला, जोगागाँउ मेला लगायतका यहाँका मौलिक मेलाहरु चलचित्रमा समावेश गर्न सकिने बताए।
साथै यहाँका ग्रामीण वस्ती, ग्रामीण क्षेत्र, बाटो, नदि, पुल, ताल लगायत छायांकनका लागि उपयुक्त रहेको बताए।
कार्यक्रममा सहभागीहरुले बाँके राष्ट्रिय निकुञ्ज, गाभर, अगैया, राप्ती पुल लगायतका स्थानहरु छायांकनका लागि उपयुक्त रहेको सुझाएको चलचित्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेलले बताए । संकलन गरिएका सुझावहरु सहित संघले आगामी जेठमा छायांकन स्थलहरू समेटिएको बुकलेट प्रकाशन गर्ने तयारी गरिरहेको संघका सचिव बिक्रम बुढाक्षेत्रीले बताए। सहभागीहरुले यो काम ऐतिहासिक भएको बताउँदै विद्यालयहरुले स्थानीय पाठ्यक्रममा पढ्न पाउने गरी बुकलेट निर्माण गर्न सुझाव दिए ।
संघले सक्रिय रुपमा नियमित कार्यक्रम गरिरहेको बताउदैं संघका सल्लाहकार कमल खत्रीले यससंगै व्यवसायीक रुपमा चलचित्र पत्रकारीता गर्न पनि सुझाव दिएका छन्।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्ररिषि चौलागाईको प्रमुख आथित्यमा भएको कार्यक्रममा बरिष्ठ कलाकार कैलास प्रविण, श्यामानन्द सिंह, कमल विक निर्मोही, सुन्दर गुरुङ, विरेन्द्र यादव, जिनु, अनिता लामिछाने, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, पत्रकार झलक गैरे, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, बागेश्वरी सिनेमा हलका म्यानेजर, सिने रोयल लगायतका ६० बढीको उपस्थिति थियो। संघका नयाँ सदस्यहरुलाई स्वागत पनि गरिएको उक्त कार्यक्रम सन्चालन संघका उपाध्यक्ष समिर मान श्रेष्ठले गरेका थिए।