दर्शन सुनार/कतार : गैर आवासीय नेपाली संघ कतार र तमु (समाज) कतारको संयुक्त आयोजनामा आयोजित "गैर आवासीय नेपाली तारा २०२३ सिजन ४" को ‘’ग्राण्ड फिनाले’’ शुक्रबार हुने भएको छ ।
अल रैयानमा अवस्थित लुक्तामा रहेको ट्युनिसियन स्कुलको सभा हलमा बिहान ११ बजेबाट सुरु हुने फिनालेको लागि नेपालबाट अतिथि निर्णायकको भूमिकामा चर्चित गायक राम कृष्ण ढकाल र चर्चित नायिका तथा नृत्यङ्गना पुर्णिमा श्रेष्ठ कतार आउने भएका छन्।
फिनाले प्रवेश गरेका गायन विधाबाट दिपक कुमार घले,ईसान रेग्मी ,सुजन गुरुङ ,मानसिङ परियार , रुस्तम तामाङ र नृत्य बिधाबाट जुनुमाया कुमाल, सरोज लामा निरु श्रेष्ठ, झरना राई ,सौजन चोहारबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।"नेपाली कला र सस्कृतिको सम्मान गरौँ', ‘प्रवासमा रहेका प्रतिभाको खोजी गरौँ” भन्ने मूल नाराका साथ राष्टिय आविस्कार केन्द सहयोगार्थ आयोजीत कार्यक्रमको मुनाफाको ६५ प्रतिशत रकम राष्टिय आविस्कार केन्द्र नेपाललाई सहयोग गर्ने आयोजकले जनाएको छ।
प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालिरहेका छन् ।