विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारको तयारी गरेका छन् ।
मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । मन्त्रीको नाम फाइनल भइसकेको बताइएको छ ।
सरकारलाई पूर्णता दिन चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । कांग्रेसबाट दबाब बढेका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ ।
कांग्रेसबाट प्रदीपकुमार सुनुवारको नाम फाइनल भएको छ । उनी संस्थापन समूहका हुन् । डाक्टर शेखर कोइराला समूहबाट रामकुमार खत्री मन्त्री बन्ने बताइएको छ । कोइराला समूहकै इन्दिरा थापालाई राज्यमन्त्री बनाउने तयारी छ ।
सिटौला समूह र सरकार गठनका लागि पार्टी भित्र विद्रोह गर्दा साथ दिएका अन्य सांसदलाई पनि चित्त बुझाउनुपर्ने भएका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ ।
नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्री बन्ने भएका छन् । उदयपुरका नारायण बुर्जामगरको नाम फाइनल भएको छ । माओवादी केन्द्रले संखुवासभाबाट निर्वाचित सांसद राजेन्द्र कार्कीलाई पनि सरकारमा पठाउने तयारी गरेको छ ।
माओवादीबाट गणेश उप्रेती पर्यटन मन्त्री छन् ।
कार्की र बुर्जामगर सहभागी भए माओवादीका तीन मन्त्री हुनेछन् ।