राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै



काठमाडौं ०३ भदौ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ ।
राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । १०१ वर्षका घिमिरेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै अक्सिजन दिएर राखिएको थियो ।
घिमिरेको जन्म वि.सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘छन्द शिरोमणि’को उपाधिबाट अभिनन्दन गरेका थिए । त्यसको तीन दिनपछि उनलाई ‘राष्ट्रकवि’को रूपमा अभिनन्दन गरिएको थियो ।