काठमाडौं । काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजदेखि होली पर्व सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु पर्व अर्थात् होली सुरु भएको मानिन्छ ।
आइतबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याउँदै एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिए ।

आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । यस वर्षको होली पर्व चैत ११ र १२ गते परेको छ । ११ गते पहाडी जिल्लामा १२ गते मधेशमा होलीको सार्वजनिक बिदा दिइएको छ ।