काठमाण्डौं : व्यावसायिक रुपमा सफल ‘जात्रा’, ‘जात्रैजात्रा’ जस्ता चलचित्र बनाएर आफुलाइ अब्वल सावित गरेका निर्देशक प्रदीप भट्टराईको ‘महाजात्रा’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ।
निर्देशक भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र प्रदर्शनको पहिलो दिन नेपाल र अष्ट्रेलिया स्थित सिड्नीमा समेत दर्शकको उत्कृष्ट साथ पाएको निर्माण पक्षले जनाएको छ । प्रदर्शनको पहिलो दिन नै नेपालका सम्पुर्ण शोहरु हाउसफुल भएसंगै चलचित्रले व्यावसायिक रुपमा सफल उडानको यात्रा शुरु गरेको छ।

वर्तमान राजनीतिकर्मीले सत्ता र पावरका निमित्त गर्ने आर्थिक अपराध, अबैध पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्या साथै समाजमा घट्ने अपराधको कथालाइ ‘महाजात्रा’ मार्फत निर्देशक भट्टराइले आफ्नो निर्देशकीय क्षमतालाई अब्वल साबित गरेका छन् ।

प्रदर्शन अवधिभर एकैछिनमा हाँस्न र रुन बाध्य बनाएको चलचित्रले दर्शकलाइ उत्कृष्ट मनोरन्जन र शिक्षा दिएको छ । चलचित्र हेर्न सिनेमाहलसम्म आएका दर्शकहरुले लामो समयपछी उत्कृष्ट चलचित्र हेर्न पाएको बताउदै सम्पुर्ण नेपाली र विशेष गरी राजनीतिकर्मीले हेर्नै पर्ने प्रतिकृया दिए ।

शुक्रबार नै उत्कृष्ट व्यापार गर्न सफल चलचित्रले शनिबार, आइतवार अझ व्यावसायिक रुपमा आक्रमक हुने अपेक्षा गरिएको छ। कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेको चलचित्रलाइ पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी रहेको यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।
