दर्शन सुनार/कतार : पछिल्लो समय कतारमा विभिन्न संघ संस्थाले ईफ्तार कार्यक्रम गरिरहेका छन्। यसैबीच, नेपाली जनसम्पर्क समिति कतारले पनि ईफ्तार विशेष कार्यक्रम गरेको छ।
ईस्लाम धर्मावलम्बीको पबित्र महिना रमजानको अवसरमा कतार च्यारिटीको सभाहलमा नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री ठाकुर कुमार परियारको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा. नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा नेपाली जनसम्पर्क समिति कतारले भव्य तरिकाले ईफ्तार कार्यक्रम सम्पन्न गरेको हो ।

मौलाना ईशहाक नदवीले कुरान तिलावद वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा राष्ट्रिय मुस्लिम परिषद नेपालका अध्यक्ष तथा धार्मिक गुरु मौलाना कासिन रैयान अलियावीले ईस्लाम धर्म र महत्त्वको बारेमा प्रष्ट पारेका थिए।
जनसम्पर्क समिति कतारका सह-महामन्त्री खगेन्द्र खनालले स्वागत मन्तव्य राखेको कार्यक्रममा ईस्लाम धर्मावलम्बीहरुको रोजा,व्रत उपवास, रमदान तथा ईस्लाम धर्म र महत्त्वको बारेमा मौलाना नाजिर मियाले बताएका थिए । कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि,ईस्लामिक संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि,मौलाना धर्म गुरुहरु लगायत थुप्रै आस्थावान तथा बर्तालुहरुको उपस्थित सहित मन्तव्य रहेको थियो ।


प्रमुख अतिथि ढकालले आफुले दुई साल पहिले देखि नै संघ-संस्था कम गर्ने, खर्च कम गर्ने मिसन सुरुवात गरेको बताए । उनले कतारमा स्थापित ईस्लामिक संघ-सस्थांहरु आधा दर्जन क्रियाशिल आफुले पाएको र क्रियाशिल संस्थाहरुलाई युनाईटेड भएर एउटै संस्था बनाएर लैजान आग्रह गर्दै एउटा संस्थामा उभिन सके समाजलाई सकारात्मक सन्देश र सामाजिक कार्यमा समेत टेवा पुग्ने बताए । रमादान पर्व सगंसगै ईद पर्वको प्रारम्भमा सम्पुर्ण ईस्लाम धर्मावलम्बीहरुलाई शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रममा सम्पुर्ण संघ-संस्थाको तर्फबाट शुभकामना मन्तव्य नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीले राखेकी थिइन्। जनसम्पर्क समिति कतारका महामन्त्री केदार भुषालले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति परियारले कार्यक्रमको मुख्य उद्धेश्य ईस्लाम धर्मावलम्बी बर्तालुहरुलाई ईफ्तारी गर्ने र हामी नेपाली दाजुभाईहरुको भाईचारा बढाउने र धार्मिक सहिष्णुता कायम रहने बताउँदै कार्यक्रमको समापन गरे । मौलाना धर्म गुरु ईशहाक नदवीले दुवाँ पढ्दै रोजा खोलेका थिए ।