दर्शन सुनार/कतार: "स्याङ्जा सहयोग समाजको चाहना, विशुद्ध सामाजिक सेवाको भावना" भन्ने मुल नाराका साथ स्याङ्जा सहयोग समाज कतारले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रम भव्य तरिकाले सकिएको छ। कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार खुमन अधिकारी, कमला गैर्हे र अस्मिता रनपालले धमाका मच्याउन सफल भए।
शुक्रबार दोहाको अल लक्ता स्थित ट्युनिसियन स्कुलको विशाल सभाहलमा स्याङ्जा सहयोग समाजले १९ औं वार्षिकोत्सव तथा राम्दीघाट वृद्धाश्रम सहयोगार्थको लागि आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुसँगै नेपालबाट आमन्त्रित कलाकारहरुले धमाका मच्याएका हुन् ।
स्थानीय कलाकार पुकार थापाले आफ्नो प्रस्तुति राख्दै सांस्कृतिक कार्यक्रमको ढोका उघारेको कार्यक्रममा लोक तथा दोहोरी गायिका कमला गैह्रे सबैभन्दा पहिला स्टेज चढेकी थिइन्। आफू पहिलो पटक कतार आउने अवसर समाजले मिलाईदिएको खुसी व्यक्त गर्दै
आधीँ खोलाको,मायाले जाम मात्रै भन्छ,माली गाइलाई बाटेको दाम्ला, डाँडाघरे साँइली लगायतका आधा दर्जन गित पस्केर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी थिइन्।

स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियारको सभापतित्व,तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष बिरेन्द्र जङ्ग केसीको प्रमुख आतिथ्यता सम्पन्न साँस्कृतिक कार्यक्रममा मोडल तथा डान्सर अस्मिता रनपालको नृत्यले माहोल तताएको थियो । उनको नृत्य सगैं दर्शकहरु छमछमी नाचेका थिए।
कार्यक्रमको उत्तरार्धमा आफ्नो प्रस्तुति राख्न स्टेज चढेका खुमन अधिकारीले करीब दर्जन भन्दा बढी आफ्ना सांगीतिक गित प्रस्तुत गरे उनले दर्शकहरुलाई नचाउंन कुनै कसुर बाकी राखेनन् । खुमनको प्रस्तुतिको पर्खाईमा बसेका दर्शक साझँ सम्म पर्खेर पसिनाले निथुर्क भिजेर नाचिरहेका थिए भने दर्शकहरुबाट वान्च मोर पाईरहे ।

विधिवत् उद्घाटन सहित पन्चेबाजाको धुन सगैं राष्ट्रिय गान बजाएर दिप प्रज्ज्वलन सहित केक काटेर कार्यक्रमको समुद्धघांटन गरिएको कार्यक्रममा बाल कलाकार जिया हमालले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा सिमित ब्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए । स्थानीय कलाकार जीवन खालिङ राई,जिया हलाम,निरु श्रेष्ठ,रुस्तम तामाङ,अमित राईले आफना प्रस्तुति राखेका थिए।

प्रमुख अतिथी केसीले आफनो शुभकामना मन्तव्य बोल्दै स्याङ्जा अन्तर्राष्ट्रिय आईसिसी कतारले जन्माएको ठाउमा आएर प्रमुख अतिथीको भुमिका निर्वाह गर्न पाउदा खुसी व्यक्त गर्दै स्याङ्जा सहयोग समाज कतारले गृह जिल्लामा निकै राम्रा काम गर्दै आईरहेको र थप राम्रा काम गर्नेछ भन्ने बिश्वास व्यक्त गरे ।

दिदीबहिनी र भाईचाराको सम्बन्धलाई थप प्रगाढ बन्ने बिश्वास व्यक्त गर्दै कार्यक्रमका सभापतिलाई फेटा (क्रेगी) लगाईदिएर सम्मान गर्दै तमु (गुरुङ) समाज कतारले स्याङ्जा सहयोग समाज कतारलाई मायाको कोशेली स्वरुप (सगुन) प्रदान गरेको थियो । नेपालबाट आमन्त्रित कलाकारहरुले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कतारका कलाकारहरू सगं लाईभ दोहोरी गाएका थिए ।

कार्यक्रमको समापन पुर्व कलाकारहरुलाई स्याङ्जा सहयोग समाज,दलित एकता सन्ञाल कतार, परियार मित्रता समाज कतारले स्टेजमै दोसल्ला ओढाएर मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरेका थिए । समाजका वरिष्ठ उपाध्यक्ष घनश्याम जैसीले स्वागत राखेको कार्यक्रममा करिब-करिब एक हजार दर्शकहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । समाजका महासचिव टेक गैर्हे,अर्जुन पौडेल र रोशन अर्यालले मिलेर सहजीकरण गरेका थिए । सभापती परियारले कार्यक्रमलाई विभिन्न तह र तप्काबाट सफल बनाउने सम्पुर्णलाई धन्यवाद प्रकट गरे ।



