कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले जिम्मेवारी पाएपछि नाउपाका नेता रेशम चौधरीले तारनतार स्ट्याटसमार्फत भडास पोखिरहेका छन् ।
केही दिन पहिले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँगको फोटो आफ्नो सामाजिक सञ्जालमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको समर्थन फिर्ता लिने चेतावनी दिएका रेशमले उक्त स्ट्याटसको चर्चा सेलाउन नपाउँदै आफ्नै पार्टीका अर्का सांसद मन्त्री नियुक्त भएपछि उनी आक्रोसित भएका हुन् ।
आजै पनि थापालाई शपथ नगराउन मुख्यमन्त्री दीर्घ सोडारीलाई चौधरीले दबाब दिएका थिए । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएकी सांसद थापा रन्जिता श्रेष्ठ निकट हुन् । यस अघि सुदूरपश्चिम प्रदेश सरकारमा पनि रन्जिता निकट रहेका कैलाश चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाइसकेका छन् ।

आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीका बिच सरकारले आफ्नै पार्टीका सांसदलाई मन्त्री बनाएपछि रेशम चिढिएका हुन् । उनले केही बेरमा लगातार ७ वटा रुष्टता प्रकट गर्ने स्ट्याटसहरू पोस्ट गरेका छन् ।
केही बेरपछि उनले आफ्नो सबै स्ट्याटस हटाएका थिए ।नेपालप्रेस




