आज गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै


  • आज गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै
  • पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

    विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ । मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरिसकेका छन् ।

    एमाले, माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।



  • मुख्यमन्त्री अधिकारीले सभामुखलाई गणना गरेर दाबी पेस गरेपछि निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्च वैशाख १७ गते खारेज गरिदिएको थियो ।

    मुख्यमन्त्री अधिकारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने समर्थन नगर्ने संकेत गरेको छ । राप्रपासँग गण्डकीमा २ सीट छ । राप्रपाले समर्थन नगरेको अवस्थामा विश्वासको मत पाउन सकस देखिन्छ ।

    तर, सर्वोच्चको व्याख्याअनुसार ३० सांसदको समर्थन हुँदा बहुमत पुग्ने गठबन्धन नेताहरूको दाबी छ । कांग्रेसको भने विश्वासको मत लिँदा बहुमतका लागि ३१ जनाकै समर्थन हुनुपर्ने तर्क छ । गण्डकी प्रदेशसभामा ६० जना सांसद छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *