उनी र म


  • उनी र म
  • ढलक्क ढल्कँदै बस उकालो लाग्दै छ । म अहिले एक्लो छु, तर उनको सम्झना गरिरहेको छु – त्यो दिनको । त्यो दिन उनी यही उकालोमा थिइन् ।

    म छेउमा छु । उनी झ्यालको छेउ छिन् । हामी दुवै एकार्काको छेउमा छौँ । बस पहाडको छेउ उकालो लाग्दै छ । उस्तै मेरो मन पनि कुनै आनन्दमा उकालो लाग्दै छ । उनी छेउ भएको आनन्द । बसको गीतको आनन्द–

    रातैभरि निन्द्रा छैन आँखा झिमिझिमी
    यसो आँखा जोड्यो भने सपनीमा तिमी
    बस्यौ अलक्यै
    यता जोवन ढल्क्यो ढलक्कै 

    आज धेरै दिनपछि यस्तो अनुभूति लिएर आयो समय । यी स्मृतिहरू कुनै गुमनाम यादहरूमा बिलाएका थिए । आज खै कसरी आए, खै मनले कति समयदेखि ज्वारभाटाहरू नियन्त्रणमा राखेको थियो ! आज मूल फुटाएर आए ।

    खैरोकालो केश । सुन्दर, निश्चल, कोमल मुहार कुनै अप्सराको मुहारभन्दा कम छैन । तर, ती सुन्दर आँखामा भने निद्रा छ । शिर कहिले मैतर्फ हेरेको झैँ ढल्कन्छ । कहिले होइन, झ्यालबाट देखिने परपरका पहाडहरूमा केही छ झैँ । तर, उनका आँखा त उनैलाई मस्त कुनै अलौकिक संसारमा पुर्‍याउँदै छन् ।

    उनले आफ्ना पाखुराहरूलाई पनि आफैँसँग लिएर गएकी छन् सायद । उनको पाखुरा मेरो पाखुरा छुँदै मस्त छ । सायद उनको अलौकिक दुनियाँमा म पनि छु । उनले नै मलाई लिएर गएकी हुन् या म आफैँ उनको सपनीमा घुस्दै छु ।

    उनका हात एकार्काको सहारा बनेर झोलामा अडिएका छन् । सायद हात मेरो पाखुरा पाएर मस्त छ । उनको काखमा उभिएको झोला उनको शिरले पाउने काँटा आफ्नो टुप्पीमा पाएर मदहोस छ, जस्तै म छु – उनका आँखामा ।

    होइन, म प्रत्यक्ष उनका आँखाहरूलाई हेर्न सक्दिनँ । म कहिले परका ती पहाडहरूलाई हेर्छु, कहिले वरका भित्ताहरूलाई । ती भित्ताहरू, जो सडकको छेउमा उभिएका छन् । मेरो धड पनि उनको शरीरलाई उभ्याउन मस्त छ । ती भित्ताहरूमा म उनको प्रतिविम्ब देख्छु । उनको सुन्दर मुहार देख्छु ।  
    तर, उनी अलक्कै छिन् ।
    बस्यौ अलक्कै
    यता जोवन ढल्क्यो ढलक्कै...
    गीत पनि मदहोसिएछ सायद 



  • म सोचिरहेछु– उनी मेरो काँधलाई आफ्नो झोला मानेर आफ्नो शिर बिसाऊन् । बिचरा शिर, बित्थामा यताउता ढल्किरहेछ ! सहारा खोजी रहेको छ । खोट उनको निद्राको छ । खोट बसको पनि छ । सडकको पनि छ । खै, खुसी हुँ कि दुःखी ? शिरले दुःख नपाएको भए उनी यति सुन्दर नदेखिन पनि सक्थिन् । उनको उपस्थितिमा म यति खुसी नहुन पनि सक्थेँ ।

    तर, यो यथार्थबाट म विचलित छु । म सोचिरहेछु– उनको शिर स्थिर बनाउन केही गरूँ ।

    भर्खरै उनको शिर मेरोतर्फ ढल्किएको थियो । अहिले अर्कोतर्फ मोडियो । उनलाई हेरिरहेको म उनलाई हेर्न नपाउने भएँ । बोलाउन पनि सक्दिनँ । कुन नाताले बोलाऊँ ? नाताबिना पनि बोलाउन सकिन्थ्यो । मलाई उनको निन्द्राको एक निमेषलाई पनि बिथोल्नु छैन । फेरि, मेरो एक निमेषको बिथोलाइले उनको पूरै निन्द्रा भंग नगरोस् ।

    म उनलाई बोलाउन सक्दिनँ, न उनी मेरो काँधमा निस्फिक्री काँध अडाउन सक्छिन् । कतै मदहोसीमै भए पनि उनले मेरो काँधमा शिर अडाइदिए हुन्थ्यो जस्तो लाग्छ । म तनक्क तन्किन्छु । कतै अझ मदहोसी बाक्लिएर उनको हातले मेरो हात समाइदिए हुन्थ्यो जस्तो पनि लाग्छ । मेरो अँगालोमा उनी सुत्न पनि सक्थिन् । मेरो काखमा मस्त निदाउन पनि उनलाई छुट थियो । तर, ती छुटहरू यसै यात्राको अन्तसँगै मौका नपाउँदै गए । उनले गुमाइन् या गुमाइनन् थाहा भएन, तर मैले केही गुमाएको जस्तो लाग्यो ।

    मैले यी समयहरू गुमाएँ । मैले उनका निश्चल, कोमल मुहार गुमाएँ । मेरो हेराइ गुमाएँ । सबैभन्दा त मैले आफैँले आफैँलाई गुमाएँ ।

    आशा छ, फेरि पनि आउनेछन् यी प्रहरहरू । यी मनका सुन्दर स्मृतिहरू । ती स्मृतिमा उनी हुनेछिन् । म हुनेछु । अनि, फेरि यी यादहरूको दुपट्टा हुनेछ । आजको भुक्तभोगी, मेरो विवशता सबै बुझेको उनको केशको काँटा पनि हुनेछ । त्यो झोला पनि हुनेछ । यी पहाडहरू त सधैँ उस्तै नै छन् । यिनीहरू पनि उस्तै भावमा उभिनेछन् । म उभिनेछु । उनी उभिनेछिन् । हामी एकार्काको छेउमा उभिनेछौँ । यो बसको सिट, जो हाम्रो जडलाई उभ्याइरहेको छ । मेरा भावलाई ढल्काइरहेको छ । फेरि पनि ढल्कनेछ यो बस या अरू कुनै कसैको बस । गाउनेछ यही भाका– 
    यता जोवन ढल्क्यो ढलक्कै...

    मेरो मनको भाका– 
    मैले सधैँ तिमीलाई रोजेँतिमीलाई मात्रै हेरेँ 
    के कुराको कमी देख्यौमन पारिनौ केरे 
    बस्यौ अलक्कै 
    यता जोवन ढल्क्यो ढलक्कै 

    ढलक्कै ढल्किसकेको मेरो जोवनले फेरि आज मिठो यौवन पायो । म आफैँलाई थाहा छैन कतिऔँपटक हो ।
    विनोद ढकाल-(धुलिखेल) बाह्रखरीबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *