दर्शन सुनार/कतार : लोकप्रिय गायक राजु परियारले कतारमा सांगीतिक धमाका मच्चाएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखाको वार्षिक साधारणमा राजुले आफ्नो भव्य प्रस्तुति दिएका हुन्।
शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसियन स्कुलको सभाहलमा दोहोरी गीत प्रतिस्ठान कतारले आफ्नो साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रममा नेपाली राजदूतावास कतारमा महामहिम डाक्टर नरेश विक्रम ढकाल प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारका अध्यक्ष शिवराम ढकालको सभापतित्व रहेको कार्यक्रमको ब्यानर अनावरण गरेर सुरु गरिएको थियो।

प्रतिष्ठान शाखा कतारका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण ढकालले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए। प्रमुख अतिथि ढकालले कार्यक्रममा बोल्दै आफ्नो दुई वर्षको कार्यकाल सकिएर छिट्टै मातृभूमि नेपाल फर्किन लागेको जानकारी गराए। साथै कतारमा रहेका श्रमिकहरुको श्रम सम्झौता,तलब ज्याला वृद्धि गर्ने,श्रमिकहरुको विमाका समस्या लगायत धेरै काम र कार्य गर्ने आफ्ना योजना, चाहाना र सपना हुँदाहुदै पनि अधुरो छोडेर जानुपर्ने समय आएको कुरा भावुक हुँदै बताए ।
औपचारिक कार्यक्रम सकिएलगत्तै सांगीतिक कार्यक्रम सुरुभएको थियो। उपस्थित सबैजना राजुले गाएका दर्जनौं गीतहरुमा झुमेका थिए। नेपालमा वर्षाले धनजनको क्षति गरिरहेको समयमा दु:ख लागेको बताउँदै राजुले आफ्नो प्रस्तुति दिएका थिए।


राजुका अलावा पुकार थापा,सुधा परियार,
गुना मगर,देव बिस्वकर्मा मनिष गोस्वामी,सुजन गुरुङ,जनक थापा मगर,सुनिता शेर्पा,चन्द्र बिसी,शकुर जास्मी लगायतले पनि कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति राखेका थिए। सांगीतिक प्रस्तुति दिने सबैलाई आयोजकले कदरपत्रले सम्मान समेत गरेको थियो।
झन्डै १ हजार बढी दर्शकहरुको उपस्तिथि कार्यक्रममा रहेको थियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारका अध्यक्ष एवम् उक्त कार्यक्रममा सभापति समेत रहेका ढकालले कार्यक्रमलाई सफल बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका थिए। लामो समयदेखि प्रतिष्ठान कतारले गायन,बाध्यबादन तथा नृत्यको प्रशिक्षण कार्यक्रम गरिरहेको र लोकगीत संगीतलाई माया गर्ने सबैलाई प्रतिष्ठान कतारमा जोडिन आग्रह समेत उनले गरे। साथै संगीत सिक्न चाहानेहरुका लागि प्रतिष्ठान कतारको ढोका सदैब खुला रहेको बताउँदै ढकालले साँस्कृतिक कार्यक्रमको समापन गरेका थिए।

औपचारिक कार्यक्रमको सहजीकरण प्रतिष्ठान शाखा कतारका महासचिव कृष्ण दर्लामी र साँस्कृतिक कार्यक्रमको सहजीकरण बाबु कौशल र रेश्मी सेन्चुरीले मिलेर गरेका थिए ।