कोरोना अपडेटः आज ८८५ थपिए, मृत्यु थप ११, डिस्चार्ज ३८५



काठमाडौं १०, भदौ ।
नेपालमा बुधवार कोरोना भाइरसका ८८५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८८५ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १९ हजार ५०४ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मृत्यु हुनेमा दुई महिला र ९ पुरुषहरु रहेका छन् । मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिला रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी कैलालीका दुईजना ४५ र ५० वर्षीय, महोत्तरीका तीनजना ६०, ७५ र ७२ वर्षीय, बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षीय, बारामा दुई जना ४१ र ४६ वर्षीय पुरुषहरुको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।