विराटनगर नोबेल मेडिकल कलेजका स्टाफ नर्सहरुले दिए सामूहिक राजीनामा



विराटनगर १०, भदौ ।
नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत नर्सहरुले आफ्नो माग सुनवाइ नभएपछि सामूहिक राजीनामा दिएका छन् । अस्पतालमा काम गर्दै आएका स्टाफ नर्सहरूले राखेको ७ बुँदे माग नोबेल मेडिकल कलेज प्रशासनले सुनवाइ नगरेको भन्दै नर्सहरूले सामूहिक राजीनामा दिएका हुन् ।
सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बीमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही पनि संक्रमित भएमा सम्पूर्ण खर्च, प्लाज्मा थेरापी, आइसीयू र भेन्टिलेटरको खर्च अस्पतालले व्यहोर्नुपर्ने र यदि संक्रमितसँगको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मी पाँचदिन क्वारेन्टिनमा बसेपछि पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा पुनः डियुटीमा लगाइनुपर्ने, इमर्जेन्सीको रेडजोनलाई कोभिड आइसोलेसन समान नर्सिङ्ग स्टाफहरुले व्यवस्थापन साथै तलब, सुरक्षा र ७ दिन अस्पताल क्वारिन्टन त्यसपछि सात दिन होम आइसोलेसनको व्यवस्थापन हुनुपर्ने लगायतका माग स्टाफ नर्सहरुको छ ।
हालसम्म नोबेल अस्पतालका कार्यरत एक दर्जन नर्स कारोना संक्रमित भइसकेका छन् । अस्पताल प्रशासनले भने नर्सहरुले प्रोत्साहन रकम नपाएको भन्दै सामूहिक राजीनामा दिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनुभयो । ‘अस्पतालको आकस्मिक कक्षमा कार्यरत ५५ जना नर्सले ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता माग गरेका थिए,’ दाहालले भन्नुभयो, ‘अस्पतालले ४ हजार रुपैयाँ दिने भनेको थियो । १ हजार रूपैयाँमा कुरा नमिल्दा ५५ जना नर्सले राजीनामा पत्र अस्पताल प्रशासनलाई बुझाएका हुन् ।’