ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु


  • ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु
  • काठमाडौं । ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार ६१ जना सबैको मृत्यु भएको छ । 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको हो ।



  • जहाजमा ५७ यात्रु र चालक दलका ४ सदस्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार विमान पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै थियो । साओ पाउलोमा सेमिनारमा भाग लिन जाँदै गरेका डाक्टरहरू उक्त जहाजमा सवार थिए । दुर्घटनास्थलमा अन्य मानिसहरू नपरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

    दुर्घटनापछि विमान कम्पनीले विज्ञप्ती जारी गरेर भनेको छ, ‘फ्लाइट २२८३ मा सवार सबै ६१ जनाको दुर्घटनास्थलमै मृत्यु भएको जानकारी गराउनुपर्दा हामी दुःखी छौं । यो समय वोयपास पीडितका परिवारलाई सहायता गर्ने विषयलाई प्राथमिकतामा राख्छ । दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूलाई सहयोग गरिरहेका छौं ।’ यात्रुहरूबारे थप विविरण सार्वजनिक भएको छैन । विमान के कारणले दुर्घटना हुन पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *