सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा- ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ ।
नेपाली सेनाले बाढीमा फसेका ७ जनाको उद्धार गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए । बाँकी मानवीय क्षतिबारे विवरण आउन बाँकी रहेको उनले बताए ।
थामे गाउँमा पसेको थामेखोलाको बाढीले १२ घरसहित स्कुल र क्लिनिकमा क्षति पुगेको छ । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामेका १२ घर (होटलसहित) बगाएको छ ।
स्थानीय एक जना बाढीमा बेपत्ता भएका छन् । थामेमा बाढी पसेको हुनाले उक्त क्षेत्रका ७ वटा घर अझै जोखिम पूर्ण अवस्थामा छन् । थामेमा सञ्चार र विद्युत् सेवा प्रभावित बनेको छ । हिमताल फुटेर उक्त बाढी आएको बताइएको छ ।