वीरगञ्ज, पोखरा, ललितपुर र बुटवलमा थप ६ जना संक्रमितको मृत्यु


  • तस्विरः फाइल
  • काठमाडौं ११, भदौ । पछिल्लो पटक वीरगञ्ज, पोखरा, ललितपुर र बुटवलमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जमा तीन, पोखरा, ललितपुर र बुटवलमा एक-एकजना गरी ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८१ पुगेको छ । -पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो । उनको उपचारका क्रममा भदौ १० गते साँझ ६ः२२ बजे मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो । -पर्सा हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा पेटमा थियो । भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । २४ घण्टा भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा कुनै सुधार भएन । उपचारकै क्रममा बिहीबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो । -वीरगञ्ज–१४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बिहीबार विहान ८ः१० मा उनको मृत्यु भएको हो । एउटा खुट्टामा समस्या भएका कारण बैशाखीको सहायतामा हिँडडुल गर्ने उनलाई भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । दुवै मिर्गौला फेल भएका कारण एक वर्षदेखि उनले वीरगञ्ज हेल्थ केयर अस्पतालमै डायलायसिस गराउँदै आएका थिए । -कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो । भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेका डा। थापाले जानकारी दिए । -पोखरा महानगरपालिका १२ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । उनलाई पोखराको कास्की सेवा हस्पिटलबाट ७ गते प्रतिष्ठानमा ल्याइएको थियो । महिलालाई बुधबारदेखि स्वास्थ्य समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी पाँचौं कोरोना संक्रमित हुन् । -ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो । पाठकका अनुसार ति पुरुषको स्थायी घर अर्घाखाँची हो भने केही समयदेखि यतै बस्दै आएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *