डा. गोविन्द केसीमाथिको गैरमानवीय कार्य बन्द गर्न नेपाल चिकित्सक संघको माग



काठमाडौं १३, भदौ ।
नेपाल चिकित्सक संघले डा. गोविन्द केसीलाई हिँडडुल गर्न नदिने अस्वाभाविक र गैरमानवीय कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ । संघले शनिबार एक विज्ञप्ति जारी गर्दै डा. केसीलाई आफू बसेको स्थानबाट बाहिर जान, हिँडडुल गर्न सुरक्षाकर्मीको प्रयोग गरी रोकिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई बिना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिने जस्ता अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य तत्काल रोक्न नेपाल चिकित्सक संघ सरोकारवाला निकाय समक्ष जोडदार माग गर्दछ’, संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ। हाल जुम्लामा रहेका डा. केसीलाई उहाँ बसेको होटलबाट बाहिर निस्कन खोज्दा माथिको आदेश भन्दै प्रहरीले बाहिर निस्कन रोक लगाएको थियो । स्वास्थ्य सेवाको पहुँच नभएका दुर्गम बस्तीमा पुगेर नागरिकको उपचारमा खटिएका चिकत्सकलाई स्थानीय प्रशासनले घेराबन्दीमा राखेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।