अब तिमीले मलाई जान देऊ


  • अब तिमीले मलाई जान देऊ
  • अब तिमीले मलाई जान देऊ । अब तिमीले मलाई जान दिनुपर्छ । मलाई बिदाबारी गरिदिनुपर्छ । बिदाइमा आँसु झार्न सुहाउँदैन । मुस्कानमय उपस्थितिमा मलाई जान दिनुपर्छ । कति रहर गुम्स्याउनु, कति भावनाहरूले वेग मार्नु, कति अनुनयविनयको विलाप गर्नु !

    आखिर एक दिन त छुट्टिनु नै छ । थाहा छैन, आफूदेखि आफैँ पनि कहाँ पुग्नुपर्ने हो ! कुन दिन के हुन्छ कसैलाई थाहा हुँदैन । जानुपर्ने कहाँ हो यो भवसागरमा, हामी यता भौँतारिरहका छौँ । यता तड्पिरहेका छौँ । यो मेरो, यो तेरो भन्दै लोभ र स्वार्थमा फसिरहेका छौँ । मायाको जालमा भुलिएका छौँ ।

    थाहै नपाई कसैलाई प्रेमले चुमिरहेका छौँ । कसैलाई घृणाले थुकिरहेका छौँ । कसैलाई पराई ठानेर चिन्दैनौँ । कसैलाई आफन्त भनेर नजिकिन्छौँ । सधैँ हतार र दौडधुपकै धपेडीमा छौँ ।

    अब मैले उन्मुक्त उडानको यात्रा थाल्नु छ । अब म फुक्का भएर यात्री बन्नु छ । मलाई कसैले नचिनून् । मलाई कसैले नभेटून् । भीडहरूमा पनि म एक्लै हुँ । अनेक तनाव, अनेक झमेलाहरूबाट मुक्त । म अब स्वतन्त्र, शान्त ।

    मैले जानुपर्ने मेरो गन्तव्य अझै धेरैधेरै टाढा छ । त्यहाँसम्म पुग्न सजिलो नहुन सक्छ । तर, पुगेर पाइने प्राप्ति निकै सुखद र स्वर्णिम हुनसक्छ ।

    सफलता भेट्नलाई सजिलो छैन । गन्तव्य पुग्नलाई नजिक छैन । आफन्त हुनलाई आफ्नै परिवारको मात्र भएर पुग्दैन । पराई हुनलाई परिवारकै सदस्य पनि काफी हुनसक्छ । माया गर्नलाई मन परेकै मान्छे हुनु पर्दैन ।

    सफलता भेट्नलाई पीडा सहनुपर्छ । चोट बिर्सिनुपर्छ । सजिलै पाइँदैन सफलता । अनेक जंघार छिचोल्नुपर्छ । काँडा टेकेर हिँड्नुपर्छ । घृणालाई पचाउन सक्नुपर्छ । प्रशंसाले मात लाग्नु हुँदैन ।

    त्यहाँसम्म पुग्न अब मलाई स्वतन्त्र छोडिदेऊ । कहिले झरनासँग हाम फालेर झर्छु । कहिले नदीसँगै शान्त हुँदै बग्छु । कहिले चुपचाप सोचाइमा मग्न हुँदै पोखरीमा बस्छु ।

    त्यसैले भो अब नरोक मलाई । मेरो बाटो छोडिदेऊ । गोधूलि घर्केर मस्त निद्रामा निस्लोट हुने बेला भइसक्यो । म जता जान्छु त्यतै जान देऊ । कहिले हावासँग आकाशभरि उडी जान सक्छु । कहिले बादलभित्र लुकामारी गर्दै खेल्न पुग्छु । कहिले घामपानीमा रुझ्दैभिज्दै इन्द्रेणी रङमा यौवनका रङहरू उमार्छु । बग्दै, खेल्दै, डुल्दैडुल्दै सागरसम्म पुग्न सक्छु ।

    अब तिमीले मलाई जान देऊ । मेरो खुसीमा मलाई रमाउन देऊ । तिमीले मलाई एक्लै छोडिदेऊ । म जता जान्छु जान देऊ । मेरो खोजी नगर । मेरो सम्झना पनि केही नगर । मलाई मभित्र पस्न देऊ । मलाई मेरो मनमा रमाउन देऊ । मलाई एक्लै एकान्तमा बस्न देऊ । मलाई मेरो अतीततिर फर्किने फुर्सद देऊ । मलाई भविष्यको योजना बुन्ने अवसर देऊ ।

    कसैको बन्धन कहिल्यै नचाहने म । कसैको आरोप, धम्की, घुर्की र गाली कहिल्यै नसहने म । कसैको चित्त नदुखाउने, सबैको भलोमा भविष्य देख्ने मान्छे । शुभमंगलको कामना गर्दै सबैको शुभचिन्तक, शुभेच्छुक मान्छे म । कतै विध्वंश गर्ने । कसैलाई हानिनोक्सानी गर्ने मेरो मनसाय होइन । बरु, सप्रेम सद्भाव बाँड्ने बानी मेरो ।

    मैले कसैलाई खुसाउनु छैन । कसैलाई रिझाउनु र झुकाउनु छैन ।



  • म आफ्नै प्रयत्नमा प्रसन्न । म आफैँसँग प्रफुल्ल । कसैले प्रशंसा गरे पनि, नगरे पनि । कसैले गाली गरे पनि, नगरे पनि ।

    मैले कसैलाई झार्नु र माथि उठाउनु छैन । बजार्नु र बझाउनु, जुधाउनु पनि छैन । सकेको सहयोग, शुभेच्छाले सरोबरी सन्तुलन कायम राख्ने चाहना मेरो ।

    जहाँ कुनै किसिमको आरोप–प्रत्यारोपको झटारोले घाइते मन हुँदैन । जहाँ शान्त, शीतल, समुन्नत सुहाग–सौन्दर्यका मुना–मुजुराहरू पल्लवित र पुष्पित भइरहेका हुन्छन् । हाँसिरहेका मनहरू हुन्छन् । नाचिरहेका र गाउँदै रमाइरहेका तनहरू हुन्छन् ।

    त्यहाँ कुनै शंका, स्वार्थ र षड्यन्त्र समेत हुँदैन । त्यस्तो समाज जहाँ सबैमा हार्दिक प्रेमले मायालु वातावरण स्वतः निर्माण भइरहेको हुन्छ । न कसैको निन्दा र चासो । न कसैको मिथ्या विरोधको बमबारी हुन्छ । जहाँ जताततै शान्त सरोबरको साम्राज्य हुन्छ । त्यहाँ मन खुसीमा एक्लै हाँस्न सक्छ ।

    मैले खोजेको यस्तै ऊर्जामय आगत । उन्नति र प्रगतिको चाहनाले सधैँ उत्प्रेरित जीवन । जहाँ उल्लासले अँगाल्न आऊन् । जहाँ प्रेमले चुम्न खोजून् । मायाले सुम्सुम्याउन आऊन् । त्यहाँ दुःखहरू पनि हाँसिरहेका हुन् । त्यहाँ काँडाहरू पनि कोमल बनून् ।

    यस्तो यात्रामा प्रस्थान हुँदै गर्दा कलश–घडा, फूल–प्रसादले बिदाइ गर्नु पर्दैन । कुनै तयारीको आवश्यकता पर्दैन । पोकापन्तरो, खर्चबर्च चाहिँदैन । मात्र निर्बन्ध मन होस् । उन्मुक्त मन होस् । धैर्य र साहसले सधैँ साथ देओस् । तनमन रोगी मानसिकताको सिकारमा कहिल्यै नपरोस् । नकारात्मक विचारको भड्खालोमा नजाकियोस् ।

    हिँड्ने बाटो र पुग्ने गन्तव्यका पाइला–पदचापहरूका सारा तगाराहरू दूर भागून् । बर्खाका खाल्डाखुल्डी र झोरझाडी पन्छाउँदै गन्तव्य छिचोल्ने दृढ अठोटले सफलता भेट्न सकोस् ।

    म यौटा कोमल मनको बरा बिचरा विवश । अब मलाई एक्लै छोडिदेऊ । मेरा रहरहरूमा, मेरा चाहनाका चाङहरूमा मलाई जता जान मन लाग्छ त्यतै जान देऊ ।

    मैले कसैको खुसी खोसिनँ । मैले कसैलाई दुःख दिने चेष्टा गरिनँ । म कसैको खुसीमा रमाइनँ । बरु, आफ्नै दुःखमा रमाएँ । सहारा कसैको खोजिनँ । चाकडी कसैको गरिनँ । मैले कसैको मन दुखाइनँ । मैले कसैको भाग खोज्ने काम गरिनँ । कसैको भाग खोसिनँ ।

    म आफैँमा सन्तुष्ट । म आफैँसँग प्रफुल्ल । मलाई कसैको जडाउरी खुसी चाहिँदैन । म कसैको निन्दा र प्रशंसा गर्न रुचाउँदिनँ । मलाई मेरै संस्कृति प्यारो । मलाई मेरै परिवेश प्यारो । मलाई मेरै धरती प्रिय । मलाई मेरै प्रकृति राम्रो ।

    तिमीलाई नभेटेर पनि केही भएको छैन । केही हुने पनि होइन होला । भेटेर पनि केही भएको छैन । तिमीलाई भेटेर अफसोस छैन । नभेटेको भए के हुन्थ्यो होला भन्ने सोच्छु । तर, जे हुनुपर्ने थियो त्यही हुन्छ । भेटेर भवितव्य केही बिग्रिने होइन ।

    मैले पुग्नुपर्ने अझै धेरै टाढा छ । मैले जानुपर्ने गन्तव्यहरू धेरै छन् । अब तिमीले मलाई जान देऊ । अब तिमीले मलाई बिदा देऊ । मन रुवाएर होइन, मन दुखाएर होइन, राजीखुसीले मनभित्रैबाट बिदा देऊ ।बाह्रखरी
     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *