मैले हजारौँलाई चिनेँ, आफैँलाई चिनिनँ !


  • मैले हजारौँलाई चिनेँ, आफैँलाई चिनिनँ !
  • मैले हजारौँलाई चिनेँ
    सयौँलाई धेरथोर बुझेँ पनि होला
    तथापि, 
    मसँग छ मेरै लागि
    प्रश्नैप्रश्नको ठूलो झोला
    मैले आफैँले आफैँलाई चिनिनँ !

    आँ गर्दा अलंकार बुझ्ने
    यो विलक्षण कला कमैसँग होला
    निकै वसन्त काटिसकेँ
    अनुभवको कमी पनि त नहोला
    तर खै, मैले आफैँले आफैँलाई किन चिनिनँ !

    कैयौँ पहाड भत्किएर मैदान भए
    सयौँ अस्तु बगे खोलैखोला
    म भने अझै टोलाएर बसेकी छु
    कहाँ जाने के गर्ने होला ?



  • क्रिस्चियानिटी पढेँ, इस्लाम बुझेँ
    हिन्दुत्व पाइलापाइलामा होला
    बुद्धका उपदेशहरू कण्ठस्थ छन् 
    लौन, कुन गन्तव्यचाहिँ मेरो होला !

    सबैले नाम तोकेरै बोलाउँछन्
    मलाई चिनेरै त होला !
    किन्तु, 
    प्रत्येक एकान्तमा भित्रभित्रै गुन्जिन्छ जब– 
    म को होला, म को होला !
    हु एम आई ? 
    खै किन हो,
    मैले आफैँले आफैँलाई चिनिनँ !

    रचना सिंह-बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *