काठमाण्डौं । घटस्थापनाको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको छ । कतिपयले हलमा चलचित्रका दृश्यहरूलाई खिचेर टुक्राटुक्रा पारेर सामाजिक सञ्जालमा राखेका छन् ।
समाजले युवतीहरूलाई विवाहका लागि दिने दबाब र त्यसले निम्त्याउने क्रियाकलापलाई रोचकशैलीमा चलचित्रले प्रस्तुत गरेको छ । अभिनेत्री स्वस्तिमा खड्का तथा निर्देशक निश्चल बस्नेतको लगानीमा बनेको फिल्ममा मुख्य भुमिकामा पनि निश्चल र स्वस्तिमालाई देख्न सकिन्छ । तर प्रदर्शनमा आउनेबित्तिकै फिल्मका क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि यसले फिल्मको निर्माण पक्षलाई प्रभाव पारेको छ ।

फिल्मले हलमा राम्रो दर्शक पाइरहँदा पाइरेसीको समस्या पनि भोगिरहेको छ । टिकटकजस्ता प्लेटफर्ममा फिल्मको क्लाइमेक्स समेत खिचेर दर्शकहरुले हालिदिँदा निर्माता मारमा परेका छन् । केहीले त तीन मिनेटसम्मको क्लिप्स टिकटकमा राखिदिएका छन् । यो समस्या यसअघि पनि थुप्रै नेपाली फिल्मले भोगिसकेका छन् । यो गैरकानुनी काम हो भने बोध नै दर्शकमा हुन सकेको छैन ।
