पोखरा । सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताहरूमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास हानेको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता–कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको हो । पार्टीका सभापति रवि लामिछानेलाई ‘राजनीतिक प्रतिशोध’ मा समातिएको भन्दै रास्वपाका नेता–कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् ।
निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो ।


जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ ।
त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।
