काठमाण्डौं । सहोदर दाईलाई घरबाट नै लागु औषध सहित पक्राउ गरेको ७ महिना नपुग्दै प्रहरीका सहायक हवल्दार कलिम बेहनालाई लागु औषध ओसार पसार तथा कारोबार गरेको आरोपमा काठमाण्डौं प्रहरीले पक्राउ गरेर निलम्वन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ दरवन्दी भएका उनी पावरको(उच्च अधिकृत) आडमा प्रहरी प्रधान कार्यालयको उजुरी छानविन महाशाखामा काजमा थिए । बांके घर भएका बेहनाले प्रहरी बर्दिको आडमा तस्करसँग मिलेर रकम मात्र उठाएनन् स्वयम लागु औषध ओसारपसार तथा विक्रिवितरण गर्न भ्याए । त्यसैले त उनले नेपालगन्जमा गगनचुम्वी घर बनाउन सफल भएका छन । तस्करहरुसँग मिलेर तस्करी समेत गरेका उनले बाँकेको विभिन्न ठाउँमा घडेरी जोडेका छन् ।
सामान्य परिवारका बेहनाको पुख्र्यौली घर बर्दिया गुलरिया नगरपालिको १ खैरापुर हो । खान, लाउन समस्या भएकै कारण उनी नेपाल प्रहरीमा जवानबाट जागिर खाए ।
नेपाल प्रहरीमा प्रवेश गरेको केहि वर्षपछि उनले नेपालगन्जका नामुद तस्करहरुसँग राम्रो सम्बन्ध बनाए । भारतबाट अवैध सामान ओसारपसार गराउने गिरोहसँगै उनले लागु औषध कारोवार र ओसारपसार गर्नेहरुसँग हात बढाए । उनका दाई पनि लागु औषध कारोवारी हुन् । लागु औषध ब्यूरोको टोलीले उनका दाईलाई २०८० साल चैतमा लागु औषधसहित पक्राउ गरेपछि सहायक हवल्दार बेहना पक्राउ गर्ने प्रहरी विरुद्ध आफुसाई संरक्षण गर्ने प्रहरीको उच्च अधिकारीलाई कुरा लगाउन समेत भ्याय । बेहनाको दाईले हाल बाँके जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् । खान, लाउन समस्या हुने परिवारका उनीसँग अहिले करोड बढीको सम्पत्ति रहेको अनुमान छ ।
काठमाडौँको कालिमाटी प्रहरी बृत्तमा कार्यरत बाँके जानकी गाउँपालिका घर भएका नेपाल प्रहरीका सहायक हवल्दार रमेश खटिक लागु औषध सहित पक्राउ परेपछि कलिमको कर्तुत बाहिर आएको हो । कलिमले खटिकलाई दैनिक जसो कालिमाटी गएर भेट्ने र आफुले स्थलमार्ग हुदै ल्याएको ब्राउन सुगर बेच्न दिने गरेको तथ्य खुलेको छ । कलिम सधै मोटरसाईकलमा नै काठमाण्डौंबाट नेपालगंज जाने र आउने गरेकै कारण पक्राउ गर्न नसकिएको प्रहरी स्रोत बताउछ । कलिमले खटिकसंग मिलेर एक सय ५० ग्राम ब्राउनसुगर विक्रि गरिसकेको अवस्थामा बचेको चार ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ ।
लागु औषधसहित पक्राउ परेका दुवै जना विरुद्ध मुद्धा चलेको छ । प्रहरी श्रोतका अनुसार दुवैजनालाई अदालतमा हाजिरी गराएर म्याद थप गरि अनुसन्धान अगाडी बढेको छ । उनीहरुलाई अनुसन्धानका लागि ९० दिनसम्म राखेर अनुसन्धान गर्न सकिने प्रावधान रहेको प्रहरी श्रोतले जनाएको छ ।
पाप धुरीबाट कराउँछ भन्ने उखान कलिमको हकमा लागू भएको छ । लागु औषधसहित पक्राउ परेका सहायक हवल्दारको साविति वयानका आधारमा पक्राउ परेका कलिमलाई नेपाल प्रहरीले निलम्बन गरेको छ । उनी विरुद्ध लागु औषध ओसारपसार तथा विक्रिवितरण ऐन अन्तर्गत मुद्धा दायर गरिने प्रहरीले जनाएको छ ।
कलिम पक्राउ परेपछि नेपालगन्जस्थित जयसपुरका तस्करहरु समेत त्रसित भएका छन् । नेपाल प्रहरीले गहिरो अनुसन्धान गर्ने हो भने कलिमसँगै जयसपुरका नामुद तस्करहरु समेत तानिने भएका छन् । कलिमको सम्बन्ध जयसपुरका तस्करहरुसँग भएकोले धेरै जना लागु औंषध कारोवारीहरुको नाम बाहिर आउने र उनीहरु पक्राउ पर्ने सम्भावना बढेको प्रहरी श्रोतले जनाएको छ । प्रहरीले त्यही ढंगबाट कलिम वेहनासँग बयान लिने काम गरिरहेको छ ।अनलाइनखोजखवरबाटसाभार