दर्शन सुनार/कतार : कतारमा "बृहत् रक्तदान कार्यक्रम" सम्पन्न भएको छ। "हाम्रो बिश्वब्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नाराका साथ नेपालीहरुको राष्ट्रिय चाडहरु वडा दशैँ,शुभ दिपावली,नेपाल संवत् र छठ पर्वको अवसर पारेर नेपाली रक्तदाता संघ,कतारको आयोजनामा शुक्रबार "बृहत् रक्तदान कार्यक्रम" सम्पन्न भएको हो ।
कतारको अलसाद स्थित हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा ४३जनाको उपस्थिति रहेको थियो। रक्तदान गर्नका लागी २४ जनाले रजिष्ट्रेसन गरेका थिए। जस मध्य १६ जनाले रक्तदान गर्न सफल भएको र ८ जना रक्तदान गर्नबाट बञ्चित भएको संघका अध्यक्ष रामजी खत्रीले सौर्य पत्रलाई जानकारी दिए ।
रगत अभावका कारण तड्पिएका व्यक्तिहरुलाई शुभ दिपावलीको उज्यालो प्रकाश जस्तै रगत उपलब्ध गराई उनीहरुको मुहारमा उज्यालो खुसी ल्याउन सकियोस भन्ने हेतुले आयोजना गरिएको उक्त मानविय र परोपकारी कार्यमा सहभागी भएर रक्तदान गरेका रक्तदाताहरुलाई धन्यवाद प्रकट गर्दै प्रशंसा पत्र र म रक्तदाता ब्याच प्रदान गरिएको थियोे।
कतारमा स्थापित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको रक्तदान कार्यक्रम बिहान आठ बजे देखि दिउँसो एक बजे सम्म चलेको थियो ।