सुर्खेत : सुर्खेतको मेहलकुनास्थित भेरी पुलबाट हामफालेर आत्महत्याको प्रयास गरेकी युवतीको सशस्त्र प्रहरी निरीक्षकको टोलीले जिवितै उद्धार गरेको छ ।
मेहलकुनामा जारी शुभाघाट मेला हेर्न आएकी युवतीले गुर्भाकोट नगरपालिका वडा नन्बर ८ र १३ जोड्ने भेरी नदीको पक्की पुलबाट आज (बुधवार) सांझ ७ बजे हामफाली आत्महत्या प्रयास गरेकी थिइन ।
गुर्भाकोट -१३ बस्ने १६ बर्षिया सम्झना बुढा पुलबाट नदीमा हामफालेको देख्नासाथ सशस्त्र प्रहरी निरीक्षक जिवन मल्लको कमाण्डमा खटिएको टोलीले नदीबाट बाहिर निकाली उनलाई जिवितै उद्धार गरेको हो।
उद्धार गरिएका युवतीलाई उपचारको लागि स्थानिय मेहलकुना अस्पतालमा पठाइएको र हाल युवतीको अवस्था खतरामुक्त रहेको प्रहरी निरीक्षक लाल बहादुर शाहीले वताए । युवतीले पुलबाट नदिना हामफाल्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
सुर्खेतको मेहलकुनामा हरेक बर्ष लाग्ने प्रसिद्ध शुभाघाट मेला अवलोकन गर्न लाखौ सर्वसाधारणहरु आउने समाजसेवी गोपाल पुन बताउछन । मेलाको सुरक्षामा प्रहरी निरीक्षक लाल बहादुर शाही र सशस्त्र प्रहरी निरीक्षक जिवन मल्लको टोली खटिएको थियो ।