नेपालगन्ज : वेस्टर्न हस्पिटल नेपालगन्जले क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपाल (CCNAN) सँगको सहकार्यमा विस्तृत क्रिटिकल केयर कोर्स (C4N) सम्पन्न गरेको छ।
पाँच हप्ताको यो कोर्स नर्सहरूको क्रिटिकल केयर सम्बन्धी सीप र विशेषज्ञता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको थियो। समापन समारोह नेपालगन्जको नेपाल मेडिकल एसोसिएसन हलमा आयोजना गरिएको थियो, जहाँ C4N को पहिलो ब्याचका नर्सहरूको उपलब्धिलाई सम्मान गरियो।
समापन समारोहको शुरुवातमा वेस्टर्न अस्पतालकी नर्सिङ निर्देशक सन्दीपा शाक्यले स्वागत मन्तव्य दिनु भएको थियो। त्यसपछि सहभागीहरू र उत्कृष्ट स्थान हासिल गर्नेहरूलाई प्रमाणपत्र वितरण गरियो। कार्यक्रममा डा. कल्पना थापा (निर्देशक, वेस्टर्न हस्पिटल), डा. रेशम बहादुर राणा(हस्पिटल निर्देशक, नेपालगंज मेडिकल कलेज ,कोहलपुर), डा. किरण गुरुङ, डा. दिपेस गुप्ता, डा. पारस पाण्डे, डा. सुबोध गौतम, डा. सलमान निजाम, डा. अलिश श्रेष्ठ, आशा पन्त (भेरी अस्पताल ) लयायत अन्य अथितिको पनि कार्यक्रममा उपस्थिती रहेको थियो।
C4N कार्यक्रमले सैद्धान्तिक ज्ञान, व्यावहारिक प्रशिक्षण, र केस-आधारित सिकाइको समन्वय गरी गहन पाठ्यक्रम प्रदान गर्दछ।
सहभागीहरूले जटिल क्रिटिकल केयर केसहरूको व्यवस्थापन, अत्याधुनिक उपकरणहरूको प्रयोग, र प्रमाण-आधारित अभ्यासबाट बिरामीको स्वास्थ्य सुधार गर्ने विशेषज्ञता प्राप्त गर्नेछन्।
समारोहमा सम्बोधन गर्दै, डा. कल्पना थापा (निर्देशक, वेस्टर्न हस्पिटल)ले कार्यक्रमको महत्वमाथि जोड दिँदै भन्नुभयो, "यो कोर्स हाम्रो क्षेत्रको क्रिटिकल केयर सेवालाई सुदृढ बनाउने दिशामा एक महत्वपूर्ण कोसेढुंगा हो। यसले नर्सहरूलाई उन्नत सीप र आत्मविश्वास प्रदान गर्दै स्वास्थ्य सेवामा उत्कृष्टता कायम गर्न मद्दत पुर्याएको छ, जसले असंख्य जीवन बचाउनेछ।"
समारोहमा सहभागीहरूको अनुभव र धारणा प्रस्तुति, सहभागीहरूलाई सम्मानपत्र वितरण, डा. पारस पाण्डे (आईसीयू इन्टेन्सिभिस्ट) र प्रशिक्षक कावेरी थापा (CCNAN) को मन्तव्य पनि समावेश गरिएको थियो। कार्यक्रम धन्यवाद ज्ञापन र सामूहिक फोटोसहित समापन गरिएको थियो।
यो कार्यक्रम वेस्टर्न हस्पिटलले प्रमाण-आधारित अभ्यासमार्फत नर्सहरूलाई सशक्त बनाउन र स्वास्थ्य सेवा क्षेत्रमा बलियो जनशक्ति निर्माण गर्नको प्रतिबद्धतालाई दर्शाउँछ। यस मान्यता प्राप्त पाठ्यक्रमको माध्यमबाट, अस्पतालले क्रिटिकल केयर केसहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न र बिरामीको परिणाम सुधार्न सक्षम स्वस्थाकर्मीहरूको आवश्यकतालाई सम्बोधन गर्दछ।