नेपालगन्ज : 'प्रादेशिक महोत्सव २०८१'को बारेमा नेपालगन्जका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ। महोत्सवको तयारीको विषय र अब गर्नुपर्ने विषयको बारेमा जानकारी दिने उद्देश्यले नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्नै कार्यालयमा आज मंगलबार पत्रकार सम्मेलन गरेको हो।
करिब ६ वर्षपछि नेपालगन्ज उद्योग वाणिज्य संघले 'प्रादेशिक महोत्सव'को आयोजना गर्दैछ। कोरोना र अन्य विविध कारणले बीचको समयमा महोत्सवको आयोजना गर्न नसकिएको आयोजकले जनाएको छ।
अब हुने महोत्सवलाई उत्कृष्ट तरिकाले संचालन गरिने पनि आयोजक टिमले प्रतिबद्धता व्यक्त गरेको छ। 'उद्योग, व्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवर्द्धन' भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव आगामी माघ १० गतेदेखि माघ २२ गतेसम्म संचालन हुनेछ।
आयोजकका अनुसार महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा हुनेछ। महोत्सवमा करिब ३ लाख दर्शकहरुले अवलोकन गर्ने र ५० लाख मुनाफा हुने आयोजकले अपेक्षा राखेको छ।
सडक डिभिजन परिसर कारकाँदोमा महोत्सव संचालन हुनेछ। महोत्सव सुरु हुने दिन नजिकिँदै गर्दा आयोजक टिमले तयारीलाई यतिबेला व्यापक तिव्रता दिएको छ। उसो त प्रचारप्रसारलाई पनि डिजिटल एवम् अन्य माध्यमबाट तिव्रता दिइएको महोत्सवका प्रचारप्रसार संयोजक डम्बर बहादुर चन्दले बताए।