काठमाडौं । नेपाल प्रहरीका डिआइजीद्वय कुबेर कडायत र रबिन्द्र केसी गत साता एआइजीमा बढुवा भए । अवकाशभन्दा तीन महिनाअघि प्रहरीको बिशिष्ट श्रेणीमा बढुवा हुने उनीहरुआईजीपी बसन्तबहादुर कुँवरकै ब्याच अर्थात् ‘ब्याच नम्बर १०८’का अधिकृत हुन् ।
प्रहरीमा १०८ को टोली भाग्यमानी ब्याच बन्न पुगेको छ। यस ब्याचबाट १५ जना अधिकृत बिशिष्ट श्रेणीमा पुग्न सफल भएका छन् ।
हालका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहितको यो ब्याचका पछिल्लो समय २३ जना सेवामा थिए। जसमध्ये १५ जना बिशिष्टि श्रेणीमा पदोन्नती भएका छन् । कुँवर आईजीपी भए भने अन्य १४ जना एआइजीसम्म पुगे ।
सात जना डिआइजी तथा एक जना मात्र एसएसपीबाट अवकाश पाएका छन्।
बिशिष्टि श्रेणीमा पुग्नेमा आईजीपी कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, मिरा चौधरी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, भरतबहादुर बोहरा, केदार ढकाल, दुर्गा सिंह, कुबेर कडायत र रबिन्द्र केसी छन् ।
उनीहरुमध्ये टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र रबिन्द्र केसी पदमै छन् । कडायत र केसी गत साता मात्र बढुवा भएका हुन् ।
प्रहरीमा एआइजीका ८ मात्र दरबन्दी छन् । तर, एआइजीको ५६ वर्षे उमेरहदका कारण छिटो–छिटो अवकाश हुँदा एउटै ब्याचका धेरै जनाले बिशिष्ट श्रेणीमा अवसर पाएका हुन् । कतिपयलाई छानी छानी अवकाशको मुखमा एआइजीको फूली लगाइयो भने शक्ति नहुनेलाई पद खाली हुँदा पनि डिआइजीमै अवकाश दिइयो ।
यही ब्याचबाट आठ जना डिआजीसम्म पुगे । अशोक सिंह, विकासराज खनाल, भोला रावल, पोषराज पोखरेल, अर्जुन चन्द ठकुरी, गणेश चन्द, धुव्रराज राउत र जनक भट्टराई डिआइजीसम्म पुगे । उनीहरुमध्ये भोला, गणेश, धुव्रराज र जनक पदमै छन् ।
अशोक सिंह जन्ममितिको विवादपछि अस्वभाविक रुपमा बर्हिगमनमा परे । पोषराजको एआइजीमा सिफारिस हुँदा पनि निर्णय भएन । रवि लामिछाने गृहमन्त्री हुँदा उनको एआइजी बढुवामा सिफारिस भएको थियो । त्यहीबिचमा सरकार ढलेपछि मन्त्रिपरिषद्ले उनको निर्णय गरेन ।
त्यसविरुद्ध उनी हाल सर्वोच्च अदालत पुगेका छन्। विकासराज र अर्जुनचन्दले उमेरका आधारमा नियमित अवकाश पाए । हालका डिआइजीमध्ये जनक भट्टराई अझै पनि एआइजी हुने दाउमा छन् । हालका एआइजीमध्ये एक जनालाई राजीनामा दिन लगाएर आफु बढुवा हुने खेलमा उनी लागिपरेको गृह मन्त्रालय स्रोत बताउँछ ।
यो ब्याचबाट एसएसपीमै अवकाश पाउने डिल्लीराज बिष्ट एक्ला हुन् । निर्मला पन्त प्रकरणमा मुछिएकाले उनी माथिल्लो पदमा पुग्न सकेनन् । निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा उनी नै कञ्चनपुरको प्रहरी प्रमुख थिए । अनुसन्धानमा लापरबाही भएको भन्दै पछि उनलाई नै मुद्दा चलाइएकोमा पछि सफाई पाएका थिए ।
उनीहरु सबै २०५१ सालमा भर्ना भएका हुन् । त्यसबेला एक सय पदमा इन्सपेक्टरको भर्ना लिइएको थियो । पहिलो लटमा ६० जनालाई लिइएको थियो ।
तर, त्यहीबिचमा सरकार फेरिएर केपी ओली गृहमन्त्री भएपछि पछिल्लो लटको भर्ना उनले रोकेका थिए । ६० बाट पनि उनले ८ जनाको नियुक्ति रोकेर उनीहरुलाई वैकल्पिकमा राखेका थिए ।
जसमा हालका एआइजीहरु दिपक, थापा, सुदीप गिरी, टेकबहादुर तामाङ हुन् । अबको चैतपछि उनीहरुमध्येबाट आईजीपीमा चयन हुँदैछ ।
नियुक्ति दिइएकामध्ये पनि गणेश चन्द र भगवानसिंह बिष्टलाई बिशेष प्रहरीमा पठाइएको थियो । उनै चन्द हाल सुदुरपश्चिम प्रदेशको प्रमुख छन् भने बिष्ट पहिले नै जागिर छाडेर अमेरिका गए ।
पछि २०५२ को कात्तिक २७ मा थप ४० जनालाई नियुक्त गरिएको थियो । जसमा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा पोखरेल लगायत छन् । ६० वर्षे सेवाहद कायमै रहेमा उनीहरुमध्येबाट पनि दुई महिनाका लागि आईजीपी बन्ने सम्भावना छ । स्रोत-अनलाइननेपाल