काठमाण्डौं : गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयले दरबन्दीविहीन प्रहरी जवानदेखि अधिकृतसम्मलाई दरबन्दीमा पठाउन पटकपटक गरेको निर्देशन बाँके प्रहरीले लत्याएपछि लुम्बिनी प्रदेशका डिआईजी यतिबेला निरिह देखिएका छन्।
भावी आइजिपीका दावेदार समेत रहेका लुम्बिनी प्रदेश डिआइजीको आदेश अन्य जिल्ला रुकुम पूर्व, रोल्पा, प्युठान, पाल्पा, गुल्मी, अर्घाखाची, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दियाका प्रहरी प्रमुखले तत्काल पालना गरेपनि बाँके प्रहरी प्रमुखले आदेशलाई अटेर गर्दा डिआइजीको कार्यसम्पादनमा प्रश्न उठेको छ ।
हाल सुदुरपश्चिम, कर्णाली, गण्डकी, बागमती, मधेश, कोशी प्रदेशका सबै जिल्लाहरुमा गृह र प्रहरी प्रधान कार्यालयको प्रहरी कर्मचारीलाई सम्वन्धित दरवन्दि फिर्ता गर्ने आदेशलाई पछिल्लो दुई महिनामा नै पालना गरेको देखिन्छ । तर लुम्बिनी प्रदेशको बाँकेमा भने मुद्दामा रहेका प्रहरी निरीक्षक लगायतलाई केहीदिन अघी दरबन्दी फिर्ता गरे पनि अन्य दरबन्दी बिहीन (बरिष्ठ सई, सई र असई) प्रहरीलाई हाकिमको आशिर्बादले आकर्षक फाँटदेखि ईलाका र चौकीको कमाण्ड मिलिरहेको छ ।
प्रधान कार्यालय हुँदै प्रदेश कार्यालयले दरबन्दी भएका प्रहरीहरुलाई सम्बन्धित दरबन्दीमा पठाउन र अन्यत्र दरबन्दी भएकालाई फिर्ता रवाना दिन पटकपटक लिखित आदेश दिँदा समेत बाँकेका एसपीले अटेर गरेका छन्। उनले दरबन्दी भएका प्रहरी अधिकृतलाई अन्यत्र चौकीको जिम्मा दिई काज समेत नभएका र आफु अनुकुल सेटिङमा माहिर मानिने केही अधिकृतलाई चौकी र ईलाकाको जिम्मा दिँदा दरबन्दी बनाएर आएका केही प्रहरी अधिकृतहरु अन्यायमा परेको बताउँछन्।
बाँकेमा लामो समयदेखि दरबन्दी भएर पनि जान नपाएको गुनासो गर्दै नाम नभन्ने सर्तमा एक प्रहरी अधिकृतले भने, ‘दरबन्दी भएर के गर्ने हजुर एसपी र डिआइजिको प्यारो हुन हाकिमको चित्त बुझाउन सक्नुपर्दो रहेछ नभए त दरबन्दी भन्ने मात्र हो जान पाइँदो रहेनछ, हामीले त दु: ख मात्र गर्ने हो राम्रो चौकी, ईलाकामा त पावरवाला र हाकिमका नजिकका प्रहरी मात्र जान्छन्, हाम्रो त पालो नै आउँदैन । अहिले पनि हामीहरुको दरबन्दीमा अन्यत्र जिल्ला (प्रदेश बाहीर) दरबन्दी भएको अधिकृतलाई चौकी र ईलाकामा पठाएर हामीलाई ठुलो अन्याय भएको छ ।’
यि त एक प्रतिनिध पात्र मात्र हुन्। बाँकेमा एक दर्जनबढी आकर्षण मानिने चौकी र ईलाकामा विगत लामो समयदेखि अन्यत्र दरबन्दी भएका काज बिहीन प्रहरीहरुले नै रजगज गरिरहेको एक प्रहरी अधिकृत बताउँछन्। उनले भन्छन, ‘ प्रदेश प्रहरीले दरवन्दि फिर्ता रवाना गर्ने आदेश पटक पटक गरेतापनी हाकिमको प्यारो र नेताको भनसुनमा रोकिँदा दरबन्दी भएका अधिकृतहरु(बरिष्ठ सई, सई र असई) चौकी र ईलाकामा जान नपाई अन्यायमा परेका छन्। उनीहरु सम्बन्धित दरबन्दी भएको चौकी र ईलाकामा जान पाउनुपर्छ ।’
बाँकेमा दरबन्दी नभएकालाई फिर्ता रवानामा नदिई युनिट कमाण्डको जिम्मा दिइएको विषयमा प्रदेश प्रहरीका एक अधिकृतसंग बुझ्दा उनले भने, ‘पहिले नै रवाना गर्न र दरबन्दी नभएकालाई कुनै पनि कमाण्ड नदिन र दरबन्दी भएकालाई कमाण्ड दिनु भनेर केही दिनअघि मात्र पत्राचार भएको हो । डिआइजी साप बिदाबाट भर्खर आउनुभएको छ। यस विषयमा पुनः जानकारी गराउँछौ र सम्बन्धित दरबन्दी नगई अटेर गरि पावर लगाउनेलाई तत्काल रवाना गर्न र दरबन्दीकालाई कमाण्ड दिन जिल्ला प्रमुखलाई आदेश दिन्छौँ ।' केही दिनमा कार्यान्वयन नभए कार्यालय प्रमुखलाई नै डिआइजी सापबाट कारबाही हुनसक्ने बताए ।
जिल्ला प्रहरी कार्यालय बाँके भने प्रधान कार्यालयको निर्देशनछि केही प्रहरीलाई दरबन्दीमा पठाइसकेको र केही जाने तयारीमा रहेको बताएपनि अन्यत्र दरबन्दी भएका केही अधिकृतलाई भने पहुच भएकै भरमा चौकी र ईलाका कमाण्डबाट हटाउन नसकेको एक अधिकृत बताउँछन्।