काठमाडौं : नेपाल प्रहरीको ३१औं प्रमुख (आईजीपी) मा दिपक थापा नियुक्त भएका छन् ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो ।मन्त्रिपरिषद्को निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख रहेका थापा आईजीपी बन्न सफल भएका छन् ।
आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए । दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।

२०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका थिए ।
मन्त्रिपरिषद्ले मेरिटअनुसार थापालाई नियुक्त गरेको छ ।
३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् । संसद्मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।