काठमाडौं : विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठक नेपालमा हुने भएको छ ।
यही जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दुत टीएस ठकुरीले बताए । जेठ २१ र २२ गते(जुन ४–५) मा एम्सको बोर्ड बैठक हुनेछ ।
कुनै पनि विधाको विश्वव्यापी फेडरेसनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवतः यो पहिलो हो । यसअघि एशियाली निकायसम्मका बोर्ड बैठक तथा कंग्रेस नेपालमा आयोजना भएका थिए ।
निरन्तर लबिङ पश्चात एम्सको बोर्ड बैठक नेपालमा होस्ट गर्न सम्भव भएको एम्स दुत रहेका नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले बताए । ‘एम्सको बोर्ड बैठक नेपालमा बस्नु भनेको समग्र देशको पर्यटनका लागि खुशीको खबर हो ।’ नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले भने–‘यसले नेपालका बारेमा विश्वव्यापी प्रचार प्रसार हुनेछ । साथै नेपालका रेस आयोजकलाई अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्न, दौडको विश्वव्यापी अभियानसँग परिचित हुन र केही सिक्न सुवर्ण अवसर समेत प्रदान गर्नेछ ।’
एम्सले संसारभर वल्र्ड एथ्लेटिक्ससँग समन्वय गरेर रोड रेसहरुको नियमन तथा प्रवद्र्धन गर्दछ । एम्सको सन्जाल एक सय बीस देशमा छ । करिब ४ सय ५० रोड रेस आयोजक यसका सदस्य छन् । संसारभर रोड रेसको मापन र मान्यता एम्सले नै दिने गर्दछ ।
एम्सको बोर्ड मिटिङका लागि आतिथ्यता गर्न लागेकोमा नेपालप्रति एम्सका प्रेसिडेन्ट पाको बोराओले आभार प्रकट गरेका छन् । स्पेन निवासी बोराओ विश्वकै राम्रो र उत्कृष्ट कोर्ष मानिने भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्सको बोर्ड बैठकमा करिब डेढ दर्जन राष्ट्रको प्रतिनिधित्व हुनेगरी सहभागिता रहनेछ । नेपालगन्ज म्याराथनले सोही अवसरमा आयोजना गर्ने अन्य बिशेष कार्यक्रममा कुल दुई दर्जन देशका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरेको छ । विश्व समुदाय समक्ष समग्र नेपालप्रतिको धारणा बन्ने भएको हुँदा यो प्रतिष्ठाको बिषय रहेको ठकुरीले बताए । ‘तसर्थ सरकारी, गैरसरकारी र नीजि क्षेत्रलाई सहकार्यका लागि आग्रह गरेका छौं ।’ उनले भने–‘आशा छ, सबैबाट सकारात्मक साथ र सहयोग रहनेछ । यसमा व्यक्तिगत तथा संस्थागत सहयोग र सहकार्य गर्नसकिनेछ ।’ नेपालमा नियमित आयोजना हुँदै आएका सम्पुर्ण रोड रेस आयोजकसँग एम्सको अन्तरक्रिया गराउने तयारी गरिएको ठकुरीले जानकारी दिए । एम्सको बोर्ड बैठक लगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन मुल आयोजक समिति गठन गरिनेछ । नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरुलाई उक्त मुल आयोजक समितिमा समेटिनेछ । एम्सको बोर्डमा युरोप, अमेरिका, जापान, थाइल्याण्ड लगायत दर्जन राष्ट्रको प्रतिनिधित्व रहेको छ ।
