काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकारलाई दुई सुझाव दिएका छन् । महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक आन्दोलनबारे आफ्ना धारणा प्रस्तुत गर्दै शिक्षकहरुका माग जतिचाँडो सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
नयाँ शैक्षिकसत्र नजिक आइसकेकाले तत्काल मन्त्रिपरिषद् बैठकबाट शिक्षकका मागबारे निर्णय गरेर उनीहरुलाई विद्यालयमा फर्काउनुपर्ने उनको सुझाव छ ।
शिक्षकहरुका केही माग सम्बन्धित मन्त्रालयले नै निर्णय गरेर सम्बोधन गर्न सक्ने उनको भनाइ छ । महामन्त्री थापाले भनेका छन्, ‘मन्त्रिपरिषद्ले निर्णय गरेर केही माग सम्बोधन गर्न सकिन्छ । यसलाई आजै मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ । कतिपय सम्बन्धित मन्त्रालयले निर्णय गरेर गर्न सकिने कामहरू छन् । यो कामलाई तत्काल गरौं ।’

शिक्षकको मुख्य माग शिक्षा ऐन जारीको विषयमा उनले आगामी बर्खे अधिवेशनको सुरुमै विधेयक पारित गर्नेगरी समझदारी गर्न सरकारलाई सुझाव दिएका छन् । विधेयकका विषयवस्तुबारे भने यसअघि नै सहमति भइसकेको उनले स्मरण गराएका छन् ।
नतिजा प्रकाशन गर्नुपर्ने र नयाँ शैक्षिक सत्र सुरु हुनेबेलामा शिक्षकहरु सडक आन्दोलनमा आउनु लज्जास्पद भएको बताउँदै महामन्त्री थापाले तत्काल सरकारले यसको टुंगो लगाउनुपर्ने बताएका छन् ।
‘चाँडोभन्दा चाँडो उहाँहरुलाई कक्षा कोठामा फिर्ता गराउनुपर्छ । यसले शैक्षिक सत्रलाई नराम्रोसँग प्रभावित गर्छ । खास गरी प्रधानमन्त्री र सरकारमा बसेका साथीहरुलाई अझ बढी जिम्मेवारी बोध गर्नुपर्छ’ उनले भने । शिक्षकहरूलाई पनि अहिलेको समयको संवेदनशीलतालाई बुझिदिन उनले आग्रह गरेका छन् ।
शिक्षकहरूले पछिल्लो पटक चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शैक्षिक हड्ताल गरेर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका छन् ।