वीरगञ्ज : पर्साको वीरगञ्जमा शनिबार दिउँसो दुई धार्मिक समूहबीच भएको झडपमा जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्रसहित १७ जना घाइते भएका छन् ।

विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप भएको थियो । झडपपछि साँझ साढे ७ बजेदेखि वीरगञ्जमा कफ्र्यु लगाइएको छ ।
उक्त झडपमा १७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । त्यस्तै, सशस्त्र प्रहरीका ८ र १२ जना प्रदर्शनकारी गरी जम्मा ३७ जना घाइते भएका छन् ।


झडपका क्रममा नेपाल प्रहरीले ७० र सशस्त्र प्रहरीले ७५ राउन्ड अश्रुग्यास प्रहार गरेका थिए । अपराह्न साढे ४ बजेतिर वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो ।
प्रहरीका अनुसार शोभायात्रामा हिँडेकाहरूलाई मस्जिदबाट ढुंगा प्रहार भएपछि झडपको सिर्जना भएको थियो । प्रहरीले संयमता अपनाएकाले ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ । झडपका क्रममा एक थान मोटरसाइकल र एउटा फ्रिज पसलबाट बाहिर निकालेर आगजनी भएको प्रहरीले जनाएको छ ।
अवस्था सामान्य भएतापनी प्रशासनले शनिबार साझबाट आज आइतबार १२ बजेसम्मका लागि कफ्र्यु आदेश जारी भएको छ ।