वीर अस्पताललाई ‘कोभिड’ अस्पताल बनाइयो, वीरको सेवा ट्रमा सेन्टरबाट



काठमाडौं २१, भदौ ।
सरकारले वीर अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य आपतकालिन कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिनुभयो। कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ। उपत्यकामा कोरोना अस्पतालका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीका अस्पताल छन्।
यस्तै विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्झौता गरी स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ। ती स्वयंसेवकलाई कोभिड–१९ फैलिएको ठाउँमा गई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न परिचालन गरिने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो।