अक्सफोर्डको कोरोना खोप परीक्षण स्थगित, सहभागी एक जना बिरामी परे



काठमाडौं । सहभागी एक जना बिरामी भएपछि अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप परीक्षण स्थगित गरिएको छ । अन्तिम परीक्षणमा रहेको भनिएको सो खोपको परीक्षण स्थगित गरिएको हो ।
परीक्षणमा सहभागी एक व्यक्ति बिरामी परेपछि तुरुन्तै खोप परीक्षण स्थगित गरिएको बीबीसीले जनाएको छ । परीक्षणमा सहभागी ती व्यक्ति कसरी बिरामी भए भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ । उनी बिरामी भएको कारण पत्ता लगाएपछि कोरोना खोपको परीक्षणबारे थप निर्णय हुनेछ ।
कोरोनाभाइरस संक्रमण बढिरहँदा रुस, अमेरिकाकोसहित अक्सफोर्डको सो खोपले विश्वको ध्यान तानिरहेका बेला परीक्षण नै स्थगित गरिएको हो ।
पहिलो र दोस्रो चरणको परीक्षण सफल भएपछि छिट्टै नै अक्सफोर्ड र एस्ट्राजेनेकाले बनाएको सो खोप आमप्रयोगमा आउन अड्कलकाबीच परीक्षण नै स्थगित गर्नुपरेको हो ।