कोरोना जित्न प्राकृतिक जडिबुटी महत्वपुर्ण – प्रधानमन्त्री ओली



काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल गरेका छन् । उनले उक्त छलफलमा आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने बताएको प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले भने - 'आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो ।' उनले मेशीनहरू एलोपेथिक नभएको बताउदै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने बताए ।
छलफलको क्रममा उनले आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेकोबताए । विश्वविद्यालयमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष्य राखिएको पनि बताए ।
प्रधानमन्त्री ओलीले भने - 'हाम्रा पूर्वजहरूले औषधिमय खानपानको प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामो अनुभव र प्रयोगबाट औषधिमय तत्वको पहिचान र प्रयोग गरेका छन् ।'
त्यस्तै उनले कोरोनाभाइरस नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाउन र यसको प्रयोगलाई बढाउन समेत सबैको ध्यानाकर्षण गराए ।