बाँकेमा डिस्चार्ज हुनेको संख्या हजार नाघ्यो



नेपालगन्ज २९, भदौ ।
बाँकेमा सोमवार तीन बर्षिय बालकसहित ४० जना डिस्चार्ज भएका छन् । खजुरा गाउँपालिका–५ का ३ बर्षका बालक भाइरस संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार, नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमण पुष्टि भएका ७ बर्षिया र ९ बर्षीया बालिकापनि डिस्चार्ज भएका छन् । उपचारका लागि आएका उनीहरुमा पनि भाइरस संक्रमण देखिएको थियो । ३ बर्षका बालकलाई खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो भने ७ र ९ बर्षिया बालिकालाई मेडिकल कलेज चिसापानीको आइसोलेसनमा राखिएको थियो । उनीहरु सबैलाई भदौ १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १ हजार ३६ पुगेको छ । तथ्यांकका हिसावले हेर्ने हो भने बाँकेमा निको हुने दर ७१.९६ प्रतिशत रहेको छ । जिल्लाका विभिन्न आइसोलेसनमा अहिलेपनि ३ सय ९६ जना बसिरहेका छन् । बाँकेमा कोरोना संक्रमितको संख्या हजार ४ सय ४० पुग्दा ८ जनाको भने मृत्यु भएको छ ।